काठमाण्डौ । सेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज १५.७६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९३३.२९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.३२ अंकले घटेर ३६३.९० को विन्दुमा ओर्लेको छ। कारोबार रकम १ अर्ब ३३ करोड रुपैयाँ बढीको भएको छ। 

बजार जानकार केशव कोइराला (काका) ठूला लगानीकर्ताहरुले आक्रामक रुपमा बढेर सेयर खरिद नगर्दा बजार बढ्न नसकेको बताउँछन्। ‘तर, तल्लो विन्दुमा भने विस्तार उनीहरुले सेयर खरिद गरिरहेका हुन सक्छ’, उनले भने।

नेपालको सेयर बजार मंसिरदेखि चैतसम्म प्रायः साइडवेजमा चल्ने गरेको कोइराला बताउँछन्। ‘अहिले पनि त्यही भएको हुन सक्छ’, उनले भने। 

अर्कोतर्फ आमलगानीकर्ताहरु अर्थमन्त्री को बन्लान् भखेर पर्ख र हेरको अवस्थामा बसेको हुन सक्ने कोइराला बताउँछन्। ‘अब केही दिनको कारोबारपछि बजारमा बढोत्तरी आउन सक्छ’, उनले भने। 

सक्रिय लगानीकर्ता निमानन्द कँडेल बजार घटे पनि कारोबार सन्तोषजनक रहेकोले लगानीकर्ताहरु डराउनुपर्ने अवस्था नरहेको बताउँछन्। ‘बजार तल्लो विन्दुमा रहेको ठूला लगानीकर्ताहरुले विस्तारै–विस्तारै खरिद बढाइरहेका छन्’, उनले भने। 

वैशाखबाट ब्याजदर घट्दै जाने भएकोले यतिबेला जति बजार घट्दै जान्छ, त्यति नै विस्तारै–विस्तारै खरिद गर्दै जाँदा दीर्घकालमा राम्रा नाफा कमाउन सकिने कँडेल बताउँछन्।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.८७ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह १.४० प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.६३ प्रतिशत, विकास बैंक समूहमा १.२८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.१४ प्रतिशत, जलविद्युत समूहमा १.०३ प्रतिशत, लगानी समूहमा ०.५३ प्रतिशत, जीवन बीमा समूहमा १.३३ प्रतिशत, लघुवित्त समूहमा ०.३३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१० प्रतिशत, निर्जीवन बीमा समूहमा १.०६ प्रतिशत, अन्य समूहमा ०.९७ प्रतिशत र व्यापार समूहमा ०.०३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६६ कम्पनीका ३७ लाख ७७ हजार ४ कित्ता सेयर १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९३० रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ९ करोड १९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ८ करोड २४ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ४ करोड ५० लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ६३ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ५५ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ३ करोड २८ लाख रुपैयाँ, अरुण काबेली पावरको २ करोड ८७ लाख रुपैयाँ, अपर तामाकोशीको २ करोड ३० लाख रुपैयाँ, अपी पावरका २ करोड २६ लाख रुपैयाँ र सानिमा माई हाइड्रोपावरको २ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज माय खोला हाइड्रोपावरका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजिटिभ सर्किट लागेको छ। 

यो दिन बोटलर्स नेपाल (तराई) का सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।