काठमाण्डौ । साता पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक १९०० को विन्दुबाट तल झरेको छ। 

आज बजार २६.८७ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १८८८.२७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.०१ अंकले घटेर ३५६ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा १ अर्ब रुपैयाँ बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बजार घट्नुले लगानीकर्ताहरु अझै अन्यौलतामै रहेको संकेत गर्ने बताउँछन्। ‘पुँजीबजार राज्यसँग जोडिएको अंक हो’, उनले भने, ‘अहिले अर्थ मन्त्रालय सम्हालिने मन्त्री नहुँदा लगानीकर्ताले अभिभावक नभएकोजस्तो देखिन्छ।’

लगानीकर्ताहरु अहिले नै निरुत्साहित हुनुपर्ने अवस्था भने नरहेको ढकाल बताउँछन्। ‘वैशाखबाट ब्याजदर घट्दैछ, नयाँ बजेट पनि आउँछ’, उनले भने। 

आजको गिरावट चैत मसान्तको दबाब पनि हुन सक्ने ढकाल बताउँछन्। ‘कांग्रेसले नै अर्थमन्त्री पाउने देखिन्छ’, उनले भने। 

बजार जानकार महेश रिजाल बजार आज पहिलाको उच्च विन्दु १८८१ बाट केही अंक फर्केको बताउँछन्। ‘आज संसदमा पुँजीबजारका विषयमा कुरा उठेको छ’, उनले भने, ‘त्यसैले लगानीकर्ताहरु अहिले नै धेरै प्यानिक भइहाल्नुपर्ने अवस्था छैन।’

मन्त्रिमण्डल गठनमा अन्यौलता र चैत मसान्तको किस्ता तिर्नुपर्ने दबाबले आज बजार घटेको रिजाल बताउँछन्। ‘वैशाखबाट ब्याजदर घट्ने भएकोले बजार धेरै आउँछजस्तो मलाई लाग्दैन’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।

यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ४.७७ प्रतिशतले ओरालो लागेको छ। लघुवित्त समूह ३.८४ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.४५ प्रतिशत, विकास बैंक समूहमा १.४७ प्रतिशत, वित्त समूहमा १.१७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६१ प्रतिशत, जलविद्युत समूहमा ०.९४ प्रतिशत, लगानी समूहमा ०.९९ प्रतिशत, जीवन बीमा समूहमा ०.८९ प्रतिशत, उत्पादन तथा संशोधन २.०१ प्रतिशत, निर्जीवन बीमा समूहमा १.१७ प्रतिशत, अन्य समूहमा ०.२८ प्रतिशत र व्यापार समूहमा २.०४ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २५९ कम्पनीका ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँमा किनबेच भएका छन्।

आज हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ७ करोड ९५ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन नेष्डो समृद्ध लघुवित्तको ७ करोड रुपैयाँ, नबिल बैंकको ३ करोड ४७ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ४५ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको २ करोड २७ लाख रुपैयाँ, गुराँस लाइफको २ करोड २७ लाख रुपैयाँ, सोल्टी होटेलको २ करोड १४ लाख रुपैयाँ, सिद्धार्थ बैंकको १ करोड ८५ लाख रुपैयाँ र अरुण काबेली पावरको १ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज माया खोला हाइड्रोपावर र एसिया हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको वृद्धिसहित पोजिटिभ सर्किट लागेको छ। 

यो दिन ४ लघुवित्तका सेयरधनीहरु सर्वाधिक गुमाए। जीवन विकास, जाल्पा सामुदायिक र युनिक नेपाल लघुवित्तको सेयरभाउमा १० प्रतिशत र महिला लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।