काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार बजार दोहोरो अंकले उकालो लागेको छ।

आज बजार २७.४१ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २६४५.८४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.३५ अंकले उकालो लाग्दै ४७५.१२ को उचाइमा पुगेको छ। कारोबार रकम भने घटेर सवा ४ अर्ब रुपैयाँको हाराहारीमा झरेको छ। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट राजनीतिक अन्यौलता अब हट्ने सम्भावना बढेकै कारण बजार बढेको बताउँछन्। ‘लगानीकर्तामा कोरोनासँगै राजनीतिले कस्तो मोड लिन्छ होला भन्ने डर थियो, त्यही भएर केही दिनदेखि बजारले सोचेजस्तो गति लिन सकेको थिएन’, उनले भने, ‘अब राजनीतिले सकारात्मक लिनेमा लगानीकर्ताहरु आशावादी देखिएका छन्, यसलाई बजार लयमा फर्किने पूर्वसंकेतका रुपमा लिन सकिन्छ।’

कोरोनाको प्रभाव भने बजारमा खासै नपर्ने बिष्ट बताउँछन्। ‘घरबाटै सेयर कारोबार गर्न माहौल छ, विस्तार कोरोनाको प्रभाव पनि घट्दै जानेछ’, उनले भने, ‘त्यसैले बजार अब सकारात्मक ढंगले नै अगाडि बढ्छ।’

सक्रिय लगानीकर्ता पर्वत बिष्टले कोरोना र राजनीतिक कारण देखाएर पछिल्लो समय बजार घटाउन लागिपरेका समूहको जाल तोडिएको बताउँछन्। ‘आजको बजार बढाइले यसलाई पुष्टि गरेको छ’, उनले भने, ‘अझै पनि ठूला लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् तर अब एक÷दुई दिनमै बजारले सकारात्मक गति लिन्छ।’

आज कारोबार रकम केही घटे पनि डराइहाल्नुपर्ने अवस्था नरहेको बिष्ट बताउँछन्। ‘बलिया र राम्रा कम्पनीमा लगानी गर्नुपर्छ, प्रतिफल राम्रै पाइन्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ३४६.०३ अंकले उकालो लागेको छ। जीवन बीमा समूह १३७.८२ अंकले बढेको आज बैंकिङ समूहमा ३.६१ अंक, व्यापार समूहमा १९.६१ अंक, होटेल तथा पर्यटन समूहमा ११.४६ अंक, विकास बैंक समूहमा १८.०८ अंक, जलविद्युत समूहमा १५.९८ अंक, वित्त समूहमा १०.२३ अंक, उत्पादन तथा प्रशोधन समूहमा १३३.६४ अंक, अन्य समूहमा ७९.५५ अंक, लघुवित्त समूहमा ५०.१८ अंक, म्युचुअल फन्ड समूहमा ०.०५ अंक र लगानी समूहमा १ अंकको बढोत्तरी भएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१८ कम्पनीका ७५ लाख ७९ हजार ३ कित्ता सेयर ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७८९ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २७ करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। माथिल्लो तामाकोशीको १९ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको १८ करोड ७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १४ करोड ३१ लाख रुपैयाँ, महिला लघुवित्तको १२ करोड ५३ लाख रुपैयाँ, शिवम् सिमेन्टको १० करोड ६३ लाख रुपैयाँ, निफ्राको ९ करोड ७२ लाख रुपैयाँ, ग्रामीण विकास लघुवित्तको ९ करोड ६८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको ९ करोड २६ लाख रुपैयाँ र नबिल बैंकको ८ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा १० प्रतिशत तथा समता घरेलु लघुवित्त र रुरु जलविद्युतको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।

यो दिन विशाल बजार कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।