काठमाण्डौ । सेयर बजारमा मंगलबार दोहोरो अंकले उकालो लागेको छ। 

आज बजार २७.३१ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १८७१.३३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.७९ अंकले बढेर ३५५.४५ को विन्दुमा पुगेको छ। कारोबार भने १ अर्ब रुपैयाँ मुनि नै रहेको छ। 

बजार जानकार केशव कोइराला (काका) चैत मसान्तको प्रभाव सकिएकोले बजारमा खरिद चाप बढेको बताउँछन्। ‘सोही कारणले बजार बढेको हो’, उनले भने।

वैशाखदेखि ब्याजदर घटाउने कुरामा प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरबीच छलफल भइरहेको कारणले गर्दा लगानीकर्ता मनोबल बढ्दा बजार सकारात्मक भएको बताउँछन्। ‘लगातार लामो समयदेखि घटेकोले पनि बजारमा बाउन्स ब्याक आएको हो’, उनले भने, ‘अधिकांश बैंकहरुको सेयरभाउ बुक भ्यालुनजिक आएकोले पनि खरिद चाप बढेको हो।’

अर्का बजार जानकार सरोज भट्टराई प्राविधिक रुपमा १८०० आसपासबाट बजार तल नजाने देखिएपछि लगानीकर्ताहरुले खरिद चाप बढाएको बताउँछन्। ‘चैत मसान्तको प्रभाव पनि सकिएको छ’, उनले भने, ‘वैशाखदेखि ब्याजदर घटाउनका साथ सरकार र सरोकारावाला निकायहरु छलफलमा बस्दा लगानीकर्ताहरुको मनोबल बढ्न गएको हो।’

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३.२९ प्रतिशतले उकालो लागेको छ। वित्त समूह २.४३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.४१ प्रतिशत, विकास बैंक समूहमा २.३५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.६८ प्रतिशत, जलविद्युत समूहमा १.५७ प्रतिशत, लगानी समूहमा १.२१ प्रतिशत, जीवन बीमा समूहमा ०.९४ प्रतिशत, लघुवित्त समूहमा १.४९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२१ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७६ प्रतिशत, अन्य समूहमा १.२६ प्रतिशत र व्यापार समूहमा १.०५ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६२ कम्पनीका ३३ लाख १५ हजार ७२० कित्ता सेयर ९४ करोड ५२ लाख ४९ हजार १७९ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक ७ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ। सानिमा मिडिल तमोरको ५ करोड ३ लाख रुपैयाँबराबरको कारोबार भएको आज प्रभु बैंकको ३ करोड १३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ८ लाख रुपैयाँ, नबिल बैंकको २ करोड २९ लाख रुपैयाँ, शिवश्री हाइड्रोपावरको २ करोड १२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ७१ लाख रुपैयाँ, कुमारी बैंकको १ करोड ६५ लाख रुपैयाँ, कुमारी बैंकको संस्थापक सेयरको १ करोड ६५ लाख रुपैयाँ र हिमालय दोलखा हाइड्रोपावरको १ करोड ६३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज कालिञ्चोक दर्शन र आदर्श लघुवित्तका सेयरधनीहरु मालामाल भए। कालिञ्चोक दर्शनको सेयरभाउमा १० प्रतिशत तथा आदर्श लघुवित्तको १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट नै लागेको छ। 

यो दिन सानिमा मिडिल तमोर हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा ४ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।