काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

आज बजार २३.६४ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९०८.०४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.७८ अंकले घटेर ३६२.९६ को विन्दुमा ओर्लेको छ। कारोबार पनि १ अर्ब रुपैयाँ तलकै भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल लगानीकर्ताले नाफा बुक गर्दा आज पनि बजार घटेको बताउँछन्। ‘बजारमा ट्रेडर हावी भएका छन्’, उनले भने, ‘थोरै नाफा आउना साथ सेयर बेचिहाल्ने प्रवृत्ति बढेको छ। आज घटाइ पनि नाफा बुक नै हो।’

बैंकहरुको तेस्रो त्रैमासको रिपोर्ट नराम्रो आउने हल्ला चल्दा पनि बजार घटेको ढकाल बताउँछन्। ‘तर, हल्लाको पछाडि लाग्नु हुँदैन, रिपोर्ट राम्रै आउँछ’, उनले भने, ‘अहिले आत्तिएर बेच्नेभन्दा पनि खरिद गर्ने अवसर छ।’

बजार जानकार वीरेन्द्र पाण्डे पनि त्रैमासिक रिपोर्ट राम्रो नआउने हल्ला चल्दा बजारमा करेक्सन आएको बताउँछन्। ‘लगानीकर्ताको मनोबल पनि बढ्न नसक्दा बजारमा खरिदचाप नपरेको हो’, उनले भने। 

सरकारका तर्फबाट पनि बजारलाई सम्बोधन गर्ने खासै कुरा नआएकोले पनि बजार बढ्न नसकेको पाण्डेको भनाइ छ। ‘तर, बजार निकै तल आइसकेकोले अब धेरै घट्दैन’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन विकास बैंक समूह सर्वाधिक १.८८ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह १.८० प्रतिशतले घट्दा बैंकिङ समूहमा १.०२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१४ प्रतिशत, जलविद्युत समूहमा १.३१ प्रतिशत, लगानी समूहमा १.५८ प्रतिशत, जीवन बीमा समूहमा १.५५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.३१ प्रतिशत, लघुवित्त समूहमा १.६७ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.३६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६७ प्रतिशत, अन्य समूहमा ०.८५ प्रतिशत र व्यापार समूहमा ०.८२ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६७ कम्पनीका ३१ लाख ४४ हजार ५७३ कित्ता सेयर ९२ करोड ७८ हजार ५७१ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन अरुण भ्याली हाइड्रोपावरको सार्वधिक ७ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ४ करोड ३३ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको ३ करोड ११ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको २ करोड ६७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ६३ लाख रुपैयाँ, सोल्टी होटेलको २ करोड २६ लाख रुपैयाँ, कुमारी बैंकको १ करोड ९७ लाख रुपैयाँ, नबिल बैंकको १ करोड ७३ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १ करोड ६८ लाख रुपैयाँ र निफ्राको १ करोड ५१ लाख रुपैयाँ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। आदर्श लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

यो दिन उन्नति सहकार्य लघुवित्त, उपकार लघुवित्त र कालिका लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी तीनै लघुवित्तको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ।