काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
आज बजार १५.७३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९०४.४० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.७९ अंकले घटेर ३६३.१२ को विन्दुमा ओर्लेको छ। कारोबार रकम करिब १ अर्ब रुपैयाँबराबरको भएको छ।
बजार जानकार अर्जुन थापा सेयर बजारमा विविध कारणले दबाब परेको बताउँछन्। ‘आज सार्वजनिक बैंकहरुको त्रैमासिक रिपोर्ट सन्तोषजनक नभएपछि बजार घटेको हो’, उनले भने, ‘बैंकहरुको एनपीएल बढेको छ। यसले लगानीकर्तामा केही त्रास देखिएको छ।’
ब्याजदर पुरानो ऋणमा नघटेको पनि थापाले बताए। ‘मान्छेसँग पैसा छैन’, उनले भने, ‘सेयर धितो कर्जा प्रवाह पनि सहज ढंगले भएको छैन। त्यसैले बजारमा उत्साहको वातावरण नबनेको हो।’
सबै कुरा सहज हुँदै गएमा बजार पनि बढ्ने थापाको भनाइ छ।
सक्रिय लगानीकर्ता निमानन्द कँडेले पनि आज सार्वजनिक भएको रिपोर्टले बैंकहरुको एनपीएल बढेको देखिएकोले पनि लगानीकर्ता डराएको हुन सक्ने बताउँछन्। ‘त्यसैको प्रभाव आज बजारमा देखियो’, उनले भने, ‘अब लघुवित्त संस्थाहरुको रिपोर्ट खासै राम्रो आउने देखिँदैन।’
बजार अझै केही समय साइडवेजमै चल्ने कँडेलको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूह रातो पोतिएको छ।
यो दिन वित्त समूह सर्वाधिक १.५० प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह १.३५ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.४२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.२० प्रतिशत, जलविद्युत समूहमा १.२९ प्रतिशत, लगानी समूहमा १.१७ प्रतिशत, जीवन बीमा समूहमा ०.८१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०१ प्रतिशत, लघुवित्त समूहमा १.१४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४२ प्रतिशत, अन्य समूहमा ०.९३ प्रतिशत र व्यापार समूहमा ०.५३ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २६७ कम्पनीका ३२ लाख ९ हजार २१४ कित्ता सेयर ९८ करोड ३३ लाख ६७ हजार ३११ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक ५ करोड ७५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। कुमारी बैंकको संस्थापक सेयरको ३ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको आज एसियन लाइफ इन्स्योरेन्सको ३ करोड ३३ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३ करोड ३३ लाख रुपैयाँ, एभरेस्ट बैंकको २ करोड ९१ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ८६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको २ करोड ५८ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ५७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड २० लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकको २ करोड १९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज कालिञ्चोक दर्शन र मालुङ हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
यो दिन आदर्श लघुवित्तका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19