काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। 

बजार आज १७.३६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९०५.६८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.२७ अंकले बढेर ३६३.६५ को विन्दुमा पुगेको छ। हिजोको तुलनामा कारोबार रकम पनि साढे ८८ करोड रुपैयाँ भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल सबै कुराको प्रेसर सकिएकोले बजार बढ्न थालेको बताउँछन्। ‘केही दिनदेखि नयाँ स्टक एक्सचेन्ज र ब्रोकर कम्पनी खोल्नका लागि रकमको जोहो गर्न ठूला लगानीकर्ताहरुले सेयर बेच्दा बजारमा दबाब परेको थियो’, उनले भने, ‘अब लगभग पैसाको जोहो मिलिसकेको देखिन्छ। त्यसैले बजार सकारात्मक बनेको हो।’

ब्याजदर पनि घट्दै गएको र तरलता पनि सहज हुँदै गएकोले अब बजार विस्तारै ठूलो अंकले बढ्दै र सानो अंकको करेक्सनका साथ अगाडि बढ्ने ढकाल बताउँछन्। 

सक्रिय लगानीकर्ता वीरेन्द्र पाण्डे अहिलेको भन्दा ब्याजदर घटेर तल जाने र तरलता पनि अहिलेको भन्दा सहज हुने स्थिति आएमा बजारले माथिल्लोलय समात्ने बताउँछन्। ‘अहिलेको अवस्थामा बजार न्यून विन्दुमा आएको हुनाले बलिया र राम्रा कम्पनी विस्तारै लगानी बढाउँदै जानुपर्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक १.९२ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह १.८२ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.९९ प्रतिशत, विकास बैंक समूहमा १.६५ प्रतिशत, वित्त समूहमा १.२३ प्रतिशत, जलविद्युत समूहमा ०.४९ प्रतिशत, लगानी समूहमा १.४१ प्रतिशत, जीवन बीमा समूहमा ०.६१ प्रतिशत, लघुवित्त समूहमा ०.४७ प्रतिशत, निर्जीवन बीमा समूहमा १.१२ प्रतिशत, अन्य समूहमा ०.४८ प्रतिशत र व्यापारसमूहमा ०.६३ प्रतिशतको बढोत्तरी भएको छ। 

आज म्युचुअल फन्ड समूहमात्रै ०.०९ प्रतिशतले ओरालो लागेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २६४ कम्पनीका २७ लाख ५७० कित्ता सेयर ८८ करोड ५५ लाख ७८ हजार २७१ रुपैयाँमा कारोबार भएका छन्। 

आज शिवम सिमेन्टको सर्वाधिक ७ करोड रुपैयाँ बढीको कारोबार भएको छ। कालिञ्चोक दर्शनको ३ करोड १ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको २ करोड ६९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ३७ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको २ करोड १३ लाख रुपैयाँ, आँखुखोला जलविद्युतको २ करोड १२ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ करोड ७ लाख रुपैयाँ, तारागाउँ रिजेन्सी होटेलको २ करोड ३ लाख रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयरको १ करोड ९२ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको १ करोड ६६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज तारागाउँ रिजेन्सी होटेलका सेयरधनीहरुले धेरै कमाए। यो होटेलको सेयरभाउमा ८ प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन पिपुल्स पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा ५ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।