काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज १९.११ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १८७०.६५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.९५ अंकले घटेर ३५८.१४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने गत बिहीबारको तुलनामा बढेर ९५ करोड रुपैयाँ बढी भएको छ। 

बजार जानकार महेश रिजाल आज बजार १८८० को सपोर्ट विन्दुबाट तल झरेको बताउँछन्। ‘यसले प्राविधिक रुपमा बजार हेर्नेहरुले स्टप लस गरेको देखिन्छ’, उनले भने।

बजार घट्दा कारोबार बढेको उल्लेख गर्दै रिजालले भने, ‘त्यसैले बजार तुरुन्तै फर्किहाल्छ भन्न कठिन छ।’

बजारले नीतिगत व्यवस्थामै परिमार्जन चाहेको देखिएको रिजाल बताउँछन्। ‘त्यसैले अहिले लगानीकर्ताले हल्लाको भरमा सेयर किनेनन्’, उनले भने।

अर्का बजार जानकार यज्ञ घिमिरे अर्थतन्त्र चलायमान हुन नसक्दा पुँजीबजारले पनि गति लिन नसकेको बताउँछन्। ‘पुँजीगत खर्च पनि नभएको सुनिन्छ, सरकारले तलब–भत्ता खुवाउन नसकेको सुनिन्छ’, उनले भने, ‘यिनै कारणले बजारमा गिरावट आएको हो।’

लगानीकर्ताको मनोबल बढाउन सेयर धितो कर्जामा १२ करोडको क्याप र जोखिम भार हटाउन आवश्यक रहेको घिमिरेले बताए।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन जलविद्युत समूह सर्वाधिक १.८७ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह १.६८ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.७७ प्रतिशत, विकास बैंक समूहमा १.२३ प्रतिशत, वित्त समूहमा १.२७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७५ प्रतिशत, लगानी समूहमा ०.५३ प्रतिशत, जीवन बीमा समूहमा ०.९२ प्रतिशत, उत्पादन तथा प्रशोधनमा ०.९५ प्रतिशत, लघुवित्त समूहमा ०.९३ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.३९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५४ प्रतिशत र अन्य समूहमा १.३१ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७१ कम्पनीका ३२ लाख ६ हजार ४५० कित्ता सेयर ९५ करोड ४३ लाख २२ हजार ३७८ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक ४ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ करोड ५७ लाख रुपैयाँबराबरको कारोबार भएको आज तारागाउँ रिजेन्सी होटेलको ३ करोड ३१ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड २३ लाख रुपैयाँ, ओरियन्टल होटेलको २ करोड ८४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २ करोड ६२ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको २ करोड ५९ लाख रुपैयाँ, एभरेस्ट बैंकको २ करोड ४० लाख रुपैयाँ, आँखुखोला जलविद्युतको २ करोड २२ लाख रुपैयाँ र अपी पावरको १ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र गुमाउने

आज मिथिला लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउ ३ प्रतिशतको हाराहारीमा बढेको छ।

यो दिन अपर सोलु हाइड्रो, हिमालय ऊर्जा, आँखुखोला जलविद्युत र पिपुल्स पावरका सेयरधनीहरुले धेरै गुमाए। यी सबै कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा घटेका छन्।