काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। 

बजार आज १२.७३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८६९.७३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.०७ अंकले बढेर ३५७.९१ को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर पौने १ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे लगातार घटेको बजार आज बढेको बताउँछन्। ‘यसलाई बजार फर्किहाल्यो भन्न अहिले हतार हुनेछ’, उनले भने, ‘किनकि कारोबार उत्साहजनक छैन।’

प्राविधिक रुपमा पनि बजार सपोर्ट विन्दुबाटै फर्किएको जस्तो देखिएको घिमिरे बताउँछन्। ‘अझै १–२ दिनको कारोबारपछि मात्रै बजार लय थाहा हुनेछ’, उनले भने।

अर्का बजार जानकार दामोदर गजुरेल पनि बजार लगातार घटेकोले आज बढेको बताउँछन्। ‘बजार एउटा लोवर विन्दु टेस्ट गरेको छ’, उनले भने, ‘तर पनि प्राविधिक रुपमा अझै पनि पर्ख र हेरको अवस्थामा बस्नुपर्ने देखिन्छ।’

अहिले नै बजार फर्कियो भन्न नमिल्ने गजुरेल बताउँछन्। ‘आज कारोबार बढे पनि एभरेजभन्दा तल नै रहेको छ’, उनले भने। 

दीर्घकालका लागि भने यो खरिद गर्ने उपयुक्त समय रहेको गजुरेलको भनाइ छ। ‘तर, अल्पकाल र मध्यकालका लागि भने अहिले नै लगानी गर्ने समय भने होइन’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूह हरियाली छाएको छ। 

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक १.५५ प्रतिशतले उकालो लागेको छ। वित्त समूह १.३२ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.३४ प्रतिशत, विकास बैंक समूहमा ०.६६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७७ प्रतिशत, जलविद्युत समूहमा १.२५ प्रतिशत, लगानी समूहमा ०.३२ प्रतिशत, जीवन बीमा समूहमा ०.५४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६० प्रतिशत, लघुवित्त समूहमा ०.६५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३६ प्रतिशत, अन्य समूहमा ०.९१ प्रतिशत र व्यापार समूहमा ०.७३ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७६ कम्पनीका २५ लाख ३३ हजार ७१४ कित्ता सेयर ७३ करोड २६ लाख ८९ हजार ८१२ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नबिल बैंकको संस्थापक सेयरको सर्वाधिक ४ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको २ करोड २१ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको १ करोड ९६ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको १ करोड ८४ लाख रुपैयाँ, एभरेस्ट बैंकको १ करोड ६५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ६१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ६० लाख रुपैयाँ, नेपाल टेलिकमको १ करोड ४८ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १ करोड ४४ लाख रुपैयाँ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

यो दिन लक्ष्मी लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउ ९ प्रतिशत बढीले उकालो लागेको छ।

आज इस्टर्न हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशतले घटेको छ।