काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज १९.१२ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८५०.६१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.१४ अंकले घटेर ३५४.७८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने ६१ करोड रुपैयाँ बढीको मात्रै भएको छ। 

बजार जानकार महेश रिजाल मौद्रिक नीतिको समीक्षामा केही पनि परिवर्तन नहुने हल्लाले बजार घटेको बताउँछन्। ‘स्मार्ट ट्रेडर पनि पर्ख र हेरको अवस्थामा बसेका छन्’, उनले भने, ‘नेपालमा आर्थिक मन्दी आइसकेको भन्ने खबरले पनि बजार प्रभावित भएको छ।’

सरकारी कर्मचारीसमेत तलब पाउन नसकेको र व्यापारिक सटरहरु धमाधम बन्द हुँदै गरेको खबर पनि बजार घटेको रिजालको भनाइ छ। ‘आज पनि अन्तिम समयमा सप्लाई आएको छ’, उनले भने।

मौद्रिक नीतिको समीक्षामा केही नीतिगत व्यवस्थामा फेरबदल नभएमा बजार अझै २–३ महिना साइडवेजमा जान सक्ने रिजाल बताउँछन्। 

अर्का बजार जानकार विष्णु भुसाल अन्य क्षेत्र सुस्ताउँदा त्यसको असर सेयर बजारमा परेको बताउँछन्। ‘राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत व्यवस्थामा सुधार गर्न आवश्यक रहेको देखिन्छ’, उनले भने, ‘अन्यथा बजार केही समय साइडवेजमै जाने देखिन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन जलविद्युत समूह सर्वाधिक २.०४ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह १.७९ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.७४ प्रतिशत, विकास बैंक समूहमा १ प्रतिशत, वित्त समूहमा १.२१ प्रतिशत, लगानी समूहमा १.१२ प्रतिशत, जीवन बीमा समूहमा ०.४३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.१५ प्रतिशत, लघुवित्त समूहमा १.२४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०५ प्रतिशत, निर्जीवन बीमा समूहमा १.१९ प्रतिशत, अन्य समूहमा ०.७५ प्रतिशत र व्यापार समूहमा ०.४९ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६३ कम्पनीका २० लाख १५ हजार ९५९ कित्ता सेयर ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक ३ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। मकर जितुमाया सुरी हाइड्रोपावरको १ करोड ८९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको १ करोड ६८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ५४ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १ करोड ५३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ४३ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १ करोड ३७ लाख रुपैयाँ, एभरेस्ट बैंकको १ करोड ३४ लाख रुपैयाँ, हिमाल दोखला हाइड्रोपावरको १ करोड ३१ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज आत्मनिर्भर लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउमा ८ प्रतिशत बढीको बढोत्तरी भएको छ। 

यो दिन मकर जितुमाया सुरी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले ओरालो लागेको छ।