काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। 

बजार आज १०.६६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८४४.३६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.८७ अंकले बढेर ३५४.२५ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर करिब साढे ७७ करोड रुपैयाँको मात्रै भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल राष्ट्र बैंकले हिजो ल्याएको कर्जाको ब्याजदरसम्बन्धी सर्कुलरले आज बजार बढेको बताउँछन्। ‘अब कर्जाको फेरबदल गर्न ३ महिना कुनुपर्ने नभएको छ’, उनले भने, ‘त्यसैले हाल उच्च रहेको कर्जाको ब्याजदर निश्चित रुपमा घट्ने देखिएको छ।’

अहिले देश बजेट र मौद्रिक समीक्षाको संघारमा रहेको पनि ढकालले बताए। ‘मौद्रिक समीक्षामा सेयर लगानीकर्ताको मनोबल बढाउन केही न केही नीतिगत फेरबदल हुन सक्छ’, उनले भने। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र पनि कर्जाको ब्याजदर घट्ने समाचारले आज बजार बढेको बताउँछन्। ‘मौद्रिक समीक्षामार्फत जोखिम भार १५० प्रतिशतबाट १०० प्रतिशतमा झार्ने कुरा छ’, उनले भने, ‘सेयर धितो कर्जामा १२ करोडको सीमा व्यक्तिगतमा यथावत राखेर संस्थागतको हकमा फेरबदल हुन सक्ने सम्भावना पनि छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक १.९४ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूहमा १.३६ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.३० प्रतिशत, विकास बैंक समूहमा ०.८४ प्रतिशत, वित्त समूहमा ०.५१ प्रतिशत, जलविद्युत समूहमा १.०८ प्रतिशत, लगानी समूहमा ०.८० प्रतिशत, जीवन बीमा समूहमा ०.८२ प्रतिशत, लघुवित्त समूहमा ०.३४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२४ प्रतिशत, अन्य समूहमा ०.२५ प्रतिशत र व्यापार समूहमा ०.१२ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६९ कम्पनीका २८ लाख ३६ हजार १३९ कित्ता सेयर ७७ करोड ४७ लाख ६० हजार ६४७ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक ६ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ४ करोड ४६ लाख रुपैयाँबराबरको कारोबार भएको आज स्वाभिमान लघुवित्तको संस्थापक सेयरको ३ करोड ४७ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ८७ लाख रुपैयाँ, नेपाल टेलिकमको १ करोड ५१ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको संस्थापक सेयरको १ करोड ४७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ४७ लाख रुपैयाँ, अपी पावरको १ करोड ४० लाख रुपैयाँ र नागरिक लगानी कोषको १ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज पिपुल्स पावरको सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन युनिक नेपाल लघुवित्तका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो लघुवित्तको सेयरभाउ ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।