काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज १६.९६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८२१.६४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.५२ अंकले घटेर ३४९.५८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम ९० करोड रुपैयाँ माथिको भएको छ। 

बजार जानकार दामोदर गजुरेल मौद्रिक समीक्षामार्फत राष्ट्र बैंकले लगानीकर्ताले आशा गरेअनुरुप नीतिगत व्यवस्थामा फेरदबल नगर्दा बजार घटेको बताउँछन्। ‘लगानीकर्ताले मौद्रिक समीक्षामार्फत सेयर धितो कर्जामा १२ करोड क्याप हट्ने र कर्जामा १५० प्रतिशत जोखिम भारलाई पहिलेकै अवस्थामा ल्याइने आशा गरेका थिए’, उनले भने, ‘तर, राष्ट्र बैंकले ती व्यवस्था यथावत राख्दा लगानीकर्तामा निराशा बढेर बजार घटेको हो।’

मौद्रिक नीतिको समीक्षालाई हेर्नु हो भने अर्थमन्त्रीले भनेका कुरा गभर्नरले नटेरेको जस्तो देखिएको पनि गजुरेल बताउँछन्। ‘यसले पनि अर्थमन्त्री र गभर्नरबीचको समन्वय नराम्रो नहुने आँकलन लगानीकर्ताले गरेको पाइन्छ’, उनले भने, ‘यिनै कारणले लगानीकर्ता झनै निराश हुँदा बजार बिक्रीचाप परेको हो।’

सक्रिय लगानीकर्ता दिलेन्द्र पाण्डे पनि मौद्रिक समीक्षामा सेयर बजारअनुकूल व्यवस्था र लगानीकर्ताले आशा गरेका कुराहरुमा परिमार्जन नहुँदा बजार घटेको बताउँछन्। ‘अर्कोतर्फ निक्षेप ब्याजदर स्थिर रहनु र कर्जाको खासै घट्न नसक्नुले पनि बजार प्रभावित भएको देखिन्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामात्रै हरियाली छाएको छ भने अन्य सबै समूहमा रातो पोतिएको छ। 

यो दिन लगानी समूहमात्रै १.१३ प्रतिशतले उकालो लागेको छ। 

आज जलविद्युत समूह सर्वाधिक २.२१ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह २.०७ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.७१ प्रतिशत, विकास बैंक समूहमा १.१४ प्रतिशत, वित्त समूहमा १.२६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८१ प्रतिशत, जीवन बीमा समूहमा ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.५८ प्रतिशत, लघुवित्त समूहमा ०.५१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४८ प्रतिशत र व्यापार समूहमा ०.५५ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६३ कम्पनीका २७ लाख ८८ हजार ८१५ कित्ता सेयर ९० करोड ५ लाख ६३ हजार ८५६ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नागरिक लगानी कोषको सर्वाधिक ५ करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ४ करोड ५९ लाख रुपैयाँबराबरको भएको आज एनआईसी एसिया बैंकको ४ करोड ५७ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ६० लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ७ लाख रुपैयाँ, नेपाल टेलिकमको २ करोड ७ लाख रुपैयाँ, लक्ष्मी बैंकको २ करोड रुपैयाँ, सोल्टी होटेलको १ करोड ७९ लाख रुपैयाँ, कृषि विकास बैंकको १ करोड ५८ लाख रुपैयाँ र एक्सेल डेभलपमेन्ट बैंकको १ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन आत्मनिर्भर लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

आज राष्ट्र उत्थान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउमा ६ प्रतिशत बढीको गिरावट आएको छ।