काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। 

बजार आज २३.३९ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८४५.०१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ४ अंकले ३५२.९४ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि हिजोको तुलनामा बढेर ८५ करोड रुपैयाँ बढीको भएको छ। 

बजार जानकार मुक्ति अर्याल आज बजार बढ्नुमा २–३ वटा कारण रहेको बताउँछन्। ‘पहिलो भनेको कारण बजारले १८०० को विन्दुमा पहिले पनि ३ पटक टेस्ट गरेर फर्केको देखिन्छ’, उनले भने, ‘त्यसैले यो स्ट्रङ सपोर्टका रुपमा रहेको हुन सक्छ।’

बजार बढ्नुको दोस्रो कारण भनेको गभर्नरले पनि आउँदो मौद्रिक नीतिमा पुँजीबजारसम्बन्धी व्यवस्थामा केही लचक हुन सक्ने विचार राख्नु नै रहेको अर्याल बताउँछन्। ‘अर्को भनेको बजेट सार्वजनिक हुने समय पनि नजिकिएकोले पनि लगानीकर्तामा केही आशा पलाउँदा बजार बढेको हुन सक्छ’, उनले भने, ‘केही ठूला लगानीकर्ताले बजार १८०० भन्दा तल नजाने बताएकाले पनि बजार बढेको हो।’

बजार फर्किहाल्यो भन्नका लागि अझै केही दिनको कारोबारलाई नियाल्नुपर्ने अर्याल बताउँछन्। 

अर्का बजार जानकार दामोदर गजुरेल पनि पुँजीबजारप्रति अर्थमन्त्री सरकारात्मक रहेकोले आउँदो बजेटमा केही सम्बोधन हुने आशा लगानीकर्तामा देखिएकोले बजार बढेको बताउँछन्। ‘बटम लागेको बजारमा अल्पकालीन लगानीकर्ता पसेको पनि हुन सक्छ’, उनले भने। 

कर्जाको ब्याजदर पनि घट्दै गएकोले पनि बजारमा सकारात्मक प्रभाव परेको हुन सक्ने गजुरेल बताउँछन्। ‘प्राविधिक रुपमा भने अझै कन्फर्मेसन प्राप्त भइसकेको छैन’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन अन्य समूह सर्वाधिक २.३७ प्रतिशतले उकालो लागेको छ। वित्त समूह २.२८ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.७२ प्रतिशत, विकास बैंक समूहमा १.६३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.५९ प्रतिशत, जलविद्युत समूहमा २.१९ प्रतिशत, लगानी समूहमा १.१२ प्रतिशत, जीवन बीमा समूहमा १.०१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८७ प्रतिशत, लघुवित्त समूहमा ०.९६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०४ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०३ प्रतिशत र व्यापार समूहमा ०.७१ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६६ कम्पनीका २५ लाख ७७ हजार २१० कित्ता सेयर ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक ५ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको ४ करोड ७४ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको पनि ४ करोड ७४ लाख रुपैयाँ, नागरिक लगानी कोषको २ करोड ११ लाख रुपैयाँ, माई खोला हाइड्रोपावरको १ करोड ७३ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको १ करोड ७१ लाख रुपैयाँ, नबिल बैंकको १ करोड ६८ लाख रुपैयाँ, अपी पावरको १ करोड ४६ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १ करोड ४६ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकको १ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। आत्मनिर्भर लघुवित्त, इस्टर्न हाइड्रोपावर र ग्रीन लाइफ हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। 

यो दिन माई खोला हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।