काठमाण्डौ । सेयर बजार बुधबार पनि दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज १४.०५ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०५०.७८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.०३ अंकले घटेर ३८६.११ को विन्दुमा आर्लेको छ। कारोबार साढे ३ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ। 

बजार जानकार केशव कोइराला (काका) हिजोआज बजार घट्नुमा मुख्य दोषी लगानीकर्ता नै रहेको बताउँछन्। ‘किनकि कसैले भनेकै भरमा सीमित सेक्टरमा मात्रै झुम्मिने गलत प्रवृत्ति बढ्दै गएको छ’, उनले भने। 

सेक्टर रोटेसन भएन भने बजार अगाडि बढ्न नसक्ने कोइरालाको भनाइ छ। ‘अहिले लगानीकर्ताहरु होटेल सेक्टरमात्रै लागेको देखिन्छ’, उनले भने, ‘यसले बजारको बढाइ लामो समयसम्म टिक्न सक्दैन।’

अर्का बजार जानकार सूर्यनारायण पौडेल पनि सीमित सेक्टरमा लगानीकर्ताहरु लाग्दा बजारले गति लिन नसकेको बताउँछन्। ‘अहिले लगानीकर्ताहरु बैंकहरुको सेयर बेचेर होटेल सेक्टरमा लागेका छन्’, उनले भने। बजारको अहिलेको बढाइ अल्पकालीनमात्रै रहेको पौडेल बताउँछन्। ‘हिजोआजको बजार घट्नुले लगानीकर्ताको सेन्टिमेन्ट बलियो नहुनु नै हो’, उनले भने, ‘बजार १९८० सम्म आउँछ भने त्यो स्वाभाविक करेक्सन मान्न सकिन्छ।’

बजार त्यहाँबाट पनि तल झर्छ भने बियरिस नसकिएको मान्न सकिने पौडेलको भनाइ छ। ‘अब बजारको बाटो मौद्रिक नीति र चौथो त्रैमासमा आउने कम्पनीहरुको रिपोर्टले नै तय गर्ने देखिन्छ’, उनले भने।

आज नेप्से उपसमूहका १३ वटा समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ४.८४ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०.२७ प्रतिशतले बढ्दा जीवन बीमा समूहमा ०.११ प्रतिशत र व्यापार समूहमा ०.०९ प्रतिशतको बढोत्तरी भएको छ। 

आज जलविद्युत समूह सर्वाधिक १.६२ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह १.६१ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.८२ प्रतिशत, विकास बैंक समूहमा १.३६ प्रतिशत, लगानी समूहमा १.६० प्रतिशत, लघुवित्त समूहमा १.०६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.९० प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०१ प्रतिशत र अन्य समूहमा ०.४८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७१ वटा कम्पनीका ८६ लाख ५१ हजार १६४ कित्ता सेयर ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २६१ रुपैयाँमा कारोबार भएको छन्। 

यो दिन शिवम सिमेन्टको सार्वधिक २३ करोड ६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सोल्टी होटेलको १९ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको १६ करोड ७६ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ करोड ८१ लाख रुपैयाँ, नागरिक लगानी कोषको १० करोड २१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड १३ लाख रुपैयाँ, नेपाल टेलिकमको ८ करोड ५३ लाख रुपैयाँ, निफ्राको ८ करोड ४९ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ७ करोड ७६ लाख रुपैयाँ र एभरेस्ट बैंकको ५ करोड ८० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज सिटी होटेलका लगानीकर्ता मालामाल भएका छन्। यो होटेलको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजिटिभ सर्किट लागेको छ। 

आज ग्रीन भेन्चर्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।