काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज २१.३२ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०७५.९७ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ४.१७ अंकले घटेर ३८६.३५ को विन्दुमा झरेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर ४ अर्ब रुपैयाँ बढीको भएको छ। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सञ्चालक वीरेन्द्र बिष्ट बजार हिजोआज दुईवटा कारणले घटेको बताउँछन्। केही समयदेखि बढिरहेको बजारमा नाफा बुक हुँदा करेक्सन आएको उनको भनाइ छ। ‘त्यस्तै असार मसान्तको प्रभाव पनि यतिबेला बजारमा परेको छ’, उनले भने। 

बजारको करेक्सन १–२ दिनमा सकिने र फेरि माथिकै लयमा फर्किने बिष्ट बताउँछन्। ‘किनकि साउनबाट कर्जाको ब्याजदर पनि १ प्रतिशतले घट्दै छ’, उनले भने, ‘अहिले बैंकहरुमा झन्डै ४ खर्ब तरलता रहेको छ।’

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा बजार घटाउनेभन्दा पनि ब्याज घटाउने नीति नै आउने बिष्टको भनाइ छ। 

नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालको विचारमा अहिलेको करेक्सन भनेको असर मसान्तको प्रभाव नै हो। ‘बढेको बजारबाट नाफा बुक पनि भएको छ’, उनले भने, ‘सेक्टर रोटेसन हुँदै बजार १–२ दिनमै फर्किन्छ।’

साउनबाट कर्जाको ब्याज १ प्रतिशतले घट्ने लम्सालको पनि भनाइ छ। ‘अहिले बैंकहरु कर्जा असुलीमा लागेका छन्’, उनले भने, ‘प्रशस्त तरलता रहेकोले साउनबाट फेरि बजारले लय समात्न सक्छ।’

अब बैंकमा पैसा राख्नुभन्दा सेयर बजारमा लगानी गर्दा प्रतिफल बढी पाइने लम्सालको भनाइ छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने अन्य १२ वटामा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह २.०७ प्रतिशतले उकालो लागेको छ। व्यापार समूहमा पनि ०.६६ प्रतिशतको बढोत्तरी भएको छ। 

आज जीवन बीमा समूह सर्वाधिक १.८३ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह १.३४ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.०२ प्रतिशत, विकास बैंक समूहमा ०.८७ प्रतिशत, वित्त समूहमा ०.५३ प्रतिशत, लगानी समूहमा ०.७५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१३ प्रतिशत, लघुवित्त समूहमा १.३० प्रतिशत, म्युचुअल फन्ड समूहमा १.०७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७६ प्रतिशत र अन्य समूहमा १.१४ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७६ कम्पनीका ९४ लाख १८ हजार ९५२ कित्ता सेयर ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक २३ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सोल्टी होटेलको २० करोड ९४ लाख रुपैयाँबराबरको कारोबार भएको आज नागरिक लगानी कोषको २० करोड ३३ लाख रुपैयाँ, शिवम सिमेन्टको १८ करोड १८ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १४ करोड ९ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १३ करोड १७ लाख रुपैयाँ, तारागाउँ रिजेन्सी होटेलको ८ करोड ५७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ८ करोड ३७ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ७ करोड ९३ लाख रुपैयाँ र एसियन लाइफ इन्स्योरेन्सको ७ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

यो दिन ३ वटा कम्पनीका सेयरधनीहरु मालामाल भए। सिवाईसी नेपाल लघुवित्त र बिपिडब्लु लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा सिटी होटलको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट नै लागेको छ।

आज सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ७ प्रतिशत बढीले ओरालो लागेको छ।