काठमाण्डौ । सेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज ३९.२६ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २०४९.४४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.८९ अंकले घटेर ३८२.७४ को विन्दुमा ओर्लेको छ। हिजोको तुलनामा कारोबार रकम बढेर ३ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार गोविन्द घिमिरे अहिले बजारमा असार मसान्तको प्रभाव रहेको बताउँछन्। ‘अझै १–२ दिन बजारमा करेक्सन आउन सक्छ’, उनले भने, ‘अर्को साताबाट बजार फर्किन सक्छ।’

अहिले बजारमा किन्ने अवसर रहेको पनि घिमिरेको भनाइ छ। ‘अहिले खरिद गरेमा साउनमा नाफा बुक गर्न सकिन्छ’, उनले भने।

साउनबाट सेयर लोनको पैसा पनि आउने भएकोले बजार २५००–२६०० सम्म पुग्न सक्ने घिमिरेको अनुमान छ। ‘मौद्रिक नीति पनि सकारात्मक नै आउने अपेक्षा गर्न सकिन्छ’, उनले भने।

बजार जानकार प्रकाश रजौरे ट्रेडर हावी हुँदा बजारमा करेक्सन आएको बताउँछन्। ‘बजारमा होटेल सेक्टरको सेयरमा नाफा बुक भएको छ’, उनले भने। 

सबै सेक्टर नचल्दा पनि बजार लयमा फर्किन नसकेको रजौरेको तर्क छ। ‘बैंकिङ सेक्टर नचल्दा पनि बजारको बढाइ नधानिएको हो’, उनले भने। 

अहिले मार्केटमा लोनको रकम नआएकोले बजार बढ्न नसकेको रजौरे बताउँछन्। ‘अहिले असार मसान्तको प्रभाव पनि बजारमा देखिएको छ’, उनले भने, ‘यतिबेला कर्जा नवीकरणको बेला पनि छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमा रातो पोतिएको छ। 

यो दिन जीवन बीमा समूह सर्वाधिक ३.३१ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूह २.७५ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.९० प्रतिशत, विकास बैंक समूहमा १.६८ प्रतिशत, वित्त समूहमा १.०७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.५३ प्रतिशत, जलविद्युत समूहमा २.३३ प्रतिशत, लगानी समूहमा २.१६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.९३ प्रतिशत, लघुवित्त समूहमा २.१८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२३ प्रतिशत, अन्य समूहमा २.३७ प्रतिशत र व्यापार समूहमा १.२३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७७ कम्पनीका ८० लाख ९२ हजार ९६९ कित्ता सेयर ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार १३७ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक १६ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन लाइफ इन्स्योरेन्सको १३ करोड ९० लाख रुपैयाँबराबरको कारोबार भएको आज सोल्टी होटेलको ९ करोड ५७ लाख रुपैयाँ, स्वावलम्बन लघुवित्तको ८ करोड १४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ७ करोड ६१ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ७ करोड ४ लाख रुपैयाँ, नेपाल फाइनान्सको ६ करोड ८३ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५ करोड ८६ लाख रुपैयाँ र हिमालयन एभरेस्ट इन्स्योरेन्सको ५ करोड ४७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो सिटी होटेल र रावा इनर्जीका सेयरधनीहरु मालामाल भए। यी दुवै कम्पनीको सेयरभाउमा करिब १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

आज बिपिडब्लु लघुवित्त र मोदी इनर्जीका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउमा करिब १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।