काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। 

बजार आज २८.३८ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०७७.७६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.३५ अंकले बढेर ३८८.५१ को विन्दुमा पुगेको छ। कारोबार रकम ३ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार महेश रिजाल आजको बजार बढाइले असार मसान्तको प्रभाव सकिएको मान्न सकिने बताउँछन्। ‘अघिल्लो साता सेयर बेचेका म्युचुअल फन्डहरुले फेरि सेयर किनेको देखिन्छ’, उनले भने, ‘अब उनीहरुले न्याभ बढाउन पनि सेयर खरिद गर्छन्।’

बजारमा अन्तरबैंक ब्याजदर घट्दै जाँदा र ठेकेदारको भुक्तानी हुँदा मनी सप्लाई बढेको रिजालको भनाइ छ। ‘साउनको पहिलो साता मौद्रिक नीति आउन सक्छ’, उनले भने, ‘त्यसपछि बजारको प्रस्ट दिशा तय हुनेछ।’

प्राविधिक रुपमा बजार २०४० को सपोर्ट लिएर फर्किएको रिजालले बताए। ‘यो हिसाबले बजारमा कम्तीमा २२६० सम्म जान सक्छ’, उनले भने। 

अर्का बजार नयन बास्तोला पनि बजारमा असार मसान्तको प्रभाव सकिएको बताउँछन्। ‘अघिल्लो साता करेक्सन आएको थियो तर आज बजार र कारोबार दुवै बढेको छ’, उनले भने, ‘असार मसान्तमा तिर्नुपर्ने ब्याजको जोहो पनि भइसकेको देखिन्छ।’

त्यसैले बजारले अब अपट्रेन्ड नै लिन सक्ने बास्तोलाको भनाइ छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ४.६३ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह ४.०१ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.६८ प्रतिशत, विकास बैंक समूहमा १.५९ प्रतिशत, वित्त समूहमा २.१० प्रतिशत, जलविद्युत समूहमा ०.१२ अंक, लगानी समूहमा २.१५ प्रतिशत, जीवन बीमा समूहमा १.८० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.७९ प्रतिशत, लघुवित्त समूहमा १.०५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३८ प्रतिशत, निर्जीवन बीमा समूहमा २.३५ प्रतिशत र अन्य समूहमा २.७५ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २८७ कम्पनीका ८३ लाख ५२ हजार ५७६ कित्ता सेयर ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९६१ रुपैयाँमा कारोबार भएको छ। 

यो दिन हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक १८ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको १६ करोड ३६ लाख रुपैयाँबराबरको कारोबार भएको आज सोल्टी होटेलको १४ करोड ८ लाख रुपैयाँ, अरुण काबेली पावरको १२ करोड १ लाख रुपैयाँ, अपर तामाकोशीको १० करोड ६२ लाख रुपैयाँ, एनएमबि बैंकको ८ करोड ७७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ८० लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ करोड ७३ लाख रुपैयाँ, मोदी इनर्जीको ५ करोड ६७ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज रावा इनर्जी र सिटी होटेलका सेयरधनीहरु मालामाल भएका छन्। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। 

यो दिन अपर तामाकोशीको सेयरधनीहरु धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।