काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज २८.५९ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २०७७.५८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक ५.१३ अंकले घटेर ३९६.७२ को विन्दुमा आर्लेको छ। कारोबार रकम खुम्चिएर १ अर्ब ९२ करोड रुपैयाँमा सीमित बनेको छ। 

बजार जानकार सूर्यनारायण पौडेल राष्ट्र बैंक मौद्रिक नीतिमा उदार नहुँदा ठूला लगानीकर्ता पर्ख र हेरको अवस्थामा बस्दा बजार चलायमान हुन नसकेको बताउँछन्। ‘लगानीकर्ताले चौथो त्रैमासको वित्तीय विवरण र कम्पनीहरुको लाभांश घोषणा पनि कुरेका हुन सक्छन्’, उनले भने। 

बजारमा बुल अवश्य आउने तर केही समय लाग्ने पौडेलको भनाइ छ। 

अर्का बजार जानकार दामोदर गजुरेल पनि मौद्रिक नीति अपेक्षा गरेअनुरुप नआउँदा उद्योगी–व्यापारीमा असन्तुष्टि देखिएको र त्यसको असर सेयर बजारमा परेको बताउँछन्। ‘प्राविधिक रुपमा बजार केही कमजोर बनेको छ’, उनले भने, ‘सुपर ट्रेन्ड र बोलिंगरमा बजारमा केही समय करेक्सन हुन सक्ने देखिएको छ।’ 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामा मात्रै हरियाली छाएको छ भने बाँकी १२ वटा समूहमा रातो पोतएिको छ। 

यो दिन म्युचुअल फन्ड समूहमात्रै ०.३५ प्रतिशतले उकालो लागेको छ। 

आज निर्जीवन बीमा समूह सर्वाधिक २.४७ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह २.४३ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.९३ प्रतिशत, विकास बैंक समूहमा १.९३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.१६ प्रतिशत, जलविद्युत समूहमा १.२९ प्रतिशत, लगानी समूहमा ०.९८ प्रतिशत, जीवन बीमा समूहमा १.९३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.३३ प्रतिशत, लघुवित्त समूहमा १.३८ प्रतिशत, अन्य समूहमा ०.९८ प्रतिशत र व्यापार समूहमा १.५४ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६२ कम्पनीका ६० लाख १५ हजार ६७ कित्ता सेयर १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ९०० रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन अपर तामाकोशीको सर्वाधिक ८ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ७ करोड ९ लाख रुपैयाँबराबरको कारोबार भएको आज सोल्टी होटेलको ६ करोड २६ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ५ करोड १८ लाख रुपैयाँ, ज्योति विकास बैंकको ५ करोड ३ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ८८ लाख रुपैयाँ, प्रोग्रेसिभ फाइनान्सको ४ करोड ६२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ८५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ७५ लाख रुपैयाँ र एभरेस्ट बैंकको ३ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज सुपर मादी हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। 

यो दिन किसान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।