काठमाण्डौ । बैंकहरुको सन्तुलित वार्षिक वित्तीय विवरण सार्वजनिक हुँदा पनि सेयर बजारमा आज भारी गिरावट आएको छ। 

बजार आज ३८.३७ अंकले घटेको छ। योसँगै नेप्से परिसूचक २०५१.४७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.५२ अंकले घटेर ३९२.०२ को विन्दुमा ओर्लेको छ। कारोबार रकम २ अर्ब ६८ करोड रुपैयाँ बढीको भएको छ। 

बजार जानकार अजयसिंह थापा (जयशम्भु) २२०० को विन्दुमा नाफा बुक गर्नेहरु बजार नपस्दा बजार घटेको बताउँछन्। ‘उनीहरुले डिस्काउन्ट मूल्यमा सेयर खरिद गर्न चाहिरहेका छन्’, उनले भने।

प्राविधिक रुपमा बजारमा अहिले वेभ सी चलेको हुन सक्ने थापाको भनाइ छ। ‘बजार २००० देखि १९८० सम्म आउन सक्ने देखिन्छ’, उनले भने, ‘त्यसपछि माइनरको थर्ड वेभमा बजार २६०० सम्म पुग्न सक्छ।’

दीर्घकालका लागि लगानीकर्ताहरुका लागि भने अहिले खरिदको अवसर रहेको थापा बताउँछन्। ‘भोलिबाट बजारमा विस्तारै माग बढ्न सक्छ’, उनले भने।

अर्का बजार जानकार महेश रिजाल बैंकहरुको रिपोर्ट सन्तुलित नै आएको बताउँछन्। ‘यो वर्ष बैंकहरुले ठिकै लाभांश घोषणा गरे पनि आगामी वर्षबाट कम्तीमा १५ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ’, उनले भने।

प्राविधिक विश्लेषकहरुले बजार २००० को आसपास आउन सक्ने भनेपछि बजार घटेको रिजालको भनाइ छ। उनले भने, ‘तर, मेरो विचारमा भने बजार २०३० को आसपासबाटै फर्किन सक्छ।’

ब्रोकरहरुले उधारोमा किनेकाहरुले बेचेको पनि हुन सक्ने रिजालको अनुमान छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ३.५९ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ३.४३ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.७० प्रतिशत, विकास बैंक समूहमा २.५० प्रतिशत, जलविद्युत समूहमा १.९७ प्रतिशत, लगानी समूहमा १.२२ प्रतिशत, जीवन बीमा समूहमा २.०९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.४७ प्रतिशत, लघुवित्त समूहमा १.६० प्रतिशत, म्युचुअल फन्ड समूहमा १.०५ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०५ प्रतिशत, अन्य समूहमा १.१० प्रतिशत र व्यापार समूहमा २.३५ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६५ कम्पनीका ८० लाख ७ हजार ३६१ कित्ता सेयर २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार २३४.५५ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन सानिमा बैंकको सर्वाधिक १२ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एभरेस्ट बैंकको १२ करोड २१ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको ११ करोड १२ लाख रुपैयाँ, शिवम सिमेन्टको ९ करोड ८८ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ८ करोड ५५ लाख रुपैयाँ, कृषि विकास बैंकको ७ करोड ४५ लाख रुपैयाँ, कुमारी बैंकको ७ करोड ४२ लाख रुपैयाँ, नबिल बैंकको ६ करोड ९८ लाख रुपैयाँ, प्रभु बैंकको ६ करोड ८६ लाख रुपैयाँ र प्रोग्रेसिभ फाइनान्सको ६ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने धेरै गुमाउने

आजबाटै दोस्रो बजारमा कारोबारमा आएका आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको वृद्धिका साथ पोजिटिभ सर्किट लागेको छ। कृषि विकास बैंकको सेयरभाउ पनि ७ प्रतिशतको हाराहारीमा बढेको छ। 

यो दिन प्रोगेसिभ फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो फाइनान्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ। अभियान लघुवित्तको सेयरभाउमा ८ प्रतिशत बढीले ओरालो लागेको छ।