काठमाण्डौ । सेयर बजार बुधबार पनि दोहोरो अंकले उकालो लागेको छ। 

बजार आज २९.४७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०४५.४५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.३० अंकले बढेर ३९०.२८ को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर साढे १ अर्ब रुपैयाँ माथिको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल अर्थ मन्त्रालयले स्थानीय तहमा जाने पैसाको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपका रुपमा गणना गर्न दिने निर्णय गरेकोले पनि बजार बढेको बताउँछन्। ‘यसले गर्दा असोजमा ब्याजदर घट्न सक्छ’, उनले भने। 

केही बैंकहरुले सेयर लोन दिन थालेकोले पनि बजार बढेको लम्सालको भनाइ छ। ‘आजको बढोत्तरीले बजार सम्हालिन खोजेको देखिन्छ’, उनले भने, ‘अब २००० नै बजारको बटम हुन सक्छ।’

अब सप्लाई घट्ने माग बढ्दै जाने भएकोले बजार माथि नै जाने सम्भावना रहेको पनि लम्सालको तर्क छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे केही दिन घटेको बजारमा बाउन्स आएको बताउँछन्। ‘बजारमा १००–२०० अंकको उतारचढाव सामान्य नै हो’, उनले भने। 

बजारमा बुल नै आउन भने पोलिसीमै परिवर्तन हुनुपर्ने घिमिरेको भनाइ छ। ‘सेयर लोनमा १२ करोडको सीमा र जोखिम भारमा राष्ट्र बैंकले पुनरावलोकन गर्दै गएमा बजार बुल ट्रेन्डमा जान सक्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन जलविद्युत समूह सर्वाधिक २.७४ प्रतिशतले उकालो लागेको छ। जीवन बीमा समूह २.५१ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.७५ प्रतिशत, विकास बैंक समूहमा १.१४ प्रतिशत, वित्त समूहमा १.९५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.२१ प्रतिशत, लगानी समूहमा १.५२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८० प्रतिशत, लघुवित्त समूहमा १.६८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६७ प्रतिशत, निर्जीवन बीमा समूहमा २.१६ प्रतिशत, अन्य समूहमा ०.८९ प्रतिशत र व्यापार समूहमा १.९३ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७३ कम्पनीका ४२ लाख ३७ हजार ६९ कित्ता सेयर १ अर्ब ५१ करोड ४ लाख ८८ हजार ९८५ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन घोराही सिमेन्टको सर्वाधिक ७ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सोल्टी होटेलको ७ करोड ६ लाख रुपैयाँबराबरको कारोबार भएको आज आईएमई लाइफको ५ करोड ४६ लाख रुपैयाँ, एसियन लाइफको ४ करोड ३६ लाख रुपैयाँ, शिवम सिमेन्टको ४ करोड ४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ८७ लाख रुपैयाँ, हिमालयन लाइफको ३ करोड ८२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको ३ करोड ६४ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको २ करोड ९२ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको २ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज कुथेली बुखरी स्मल हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। लिबर्टी इनर्जीको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।