– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । कारोबारको समयमा वाइको कम्पनीको टीएमएसले पटक–पटक धोका दिएर आजित भएका लगानीकर्ता र ब्रोकर कम्पनीहरुलाई अब छिट्टै विकल्पको बाटो खुल्ने भएको छ।  

२०७७ साल माघ महिनाबाट नेपाल धितोपत्र बोर्ड (सेबोन)का तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको कार्यकालमा ब्रोकरहरुले नयाँ टीएमएस सञ्चालनमा ल्याउन प्रक्रिया अगाडि बढाएका थिए। लामो समय एपीआई पोलिसीका कारण अड्केको नयाँ टीएमएस सञ्चालनका लागि कस्टमाइजेसनको काम हुँदै गरेको स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका निर्वतमान अध्यक्ष सन्तोष मैनाली बताउँछन्। मैनालीका अनुसार आफ्नो ब्रोकरबाट मात्रै हुँदै आएको कस्टमाइजेसनको काम अब अन्य ३२ वटा ब्रोकरबाट पनि हुँदै आएको छ। ‘काम द्रुतगतिमा अगाडि बढेको छ। हामीले दसैँ अगाडि लन्च गर्ने तयारीमा छौँ’, मैनालीले भने। 

नयाँ टीएमएसको नेतृत्व गरेका टंक गौतमले पनि भेन्डर कम्पनीले द्रुतगतिमा काम अगाडि बढाइरहेको जानकारी दि। ‘काम धेरै अगाडि बढिसकेको छ’, उनले भने, ‘जतिसक्दो छिटो सञ्चालनमा ल्याउने तयारीमा छौँ।’ 

नयाँ टीएमएस थप क्षमता र फिचरसहितको हुने गौतमले जानकारी दिए। ‘यो टीएमएस पोर्टफोलियो म्यानेजमेन्ट तथा प्राविधिक विश्लेषणको टुल तथा रियल टाइम कारोबारको डाटा पनि उपलब्ध हुनेछ’, उनले भने, ‘यसमा बेसिक भर्सनका लागि लगानीकर्ताले कुनै चार्ज तिर्नुपर्ने छैन। तर, एड्भान्स सुविधाका लागि भने निश्चित चार्ज लाग्न सक्नेछ।’

अहिलेको आवश्यकताअनुसार नयाँ टीएमएसबाट लगानीकर्ता सन्तुष्ट हुने गौतम विश्वस्त छन्। ‘नयाँ टीएमएस मोबाइल एपबाट पनि चल्नेछ’, उनले भने, ‘अब हरेक ब्रोकरहरुको मोबाइल एप हुने र आफ्नो मोबाइलमा डाउनलोड गरेपछि मोबाइल एपबाट पनि टीएमएस खोलेर सहज रुपमा कारोबार गर्न सकिनेछ।’