काठमाण्डौ । थापाथलीस्थित द ब्रिटिस कलेजले यसपटक पनि ‘हल्ट प्राइज’ आयोजना गर्ने भएको छ। यसअघि पनि सफलतापूर्वक कार्यक्रम सञ्चालन गरेको ब्रिटिस कलेजले यस वर्ष पनि आयोजना गर्न लागेको हो।

हल्ट प्राइज फाउन्डेसनद्वारा स्थापित यस कार्यक्रम उद्यमशीलता, नवप्रवर्तन, र स्टार्ट–अपहरुको क्षेत्रलाई प्रोत्साहन गर्ने उदेश्यले सञ्चालन हुँदै आएको छ। यस कार्यक्रममार्फत सहभागीहरुले आफ्ना सिर्जनात्मक विचारहरु निर्णायक मण्डलमाझ प्रस्तुत गर्न सक्ने आयोजकले जनाएको छ। यस कार्यक्रममा मुख्यतः ४ चरणहरु हुन्छन्। जसमा अन–क्याम्पस, क्षेत्रीय, ग्लोबल एक्सेलेरेटर र ग्लोबल फाइनल रहेका छन्। यी चरणहरु पार गरेपछि निर्णायकहरुले विजेताको घोषणा गर्नेछन्। विजेताले लगानीका लागि १ मिलियन डलर प्राप्त गर्नेछन्।

हल्ट प्राइज संयुक्त राष्ट्र संघमा आधारित कार्यक्रम हो। जुन हरेक वर्ष विश्वविद्यालयस्तरका विद्याथीहरुका लागि दिगो विकास लक्ष्यहरु आधारित विभिन्न विषयवस्तुहरुका लागि १२० देशहरुमा आयोजना हुँदै आएको छ। यस वर्षको विषय भने ‘रिडिजाइनिङ फेसन’ रहेको छ।

यसअघि हल्ट प्राइज फाउन्डेसनद्वारा केन्याको नैरोबीमा आयोजना भएको ‘सेन्ट्रल साउथ एसिया प्रोग्राम अफ द इयर’ कार्यक्रमका लागि ब्रिटिस कलेजले ग्रिशम तिवारी र सन्दीप यादवलाई छनोट गरि सहभागी हुन पठाएको थियो।

द ब्रिटिस कलेज २०२२–२०२३ को हल्ट प्राइजका लागि प्रज्ज्वलिता विष्ट यस वर्षको पहिलो महिला क्याम्पस निर्देशकमा नियुक्त भएकी छन्। उनीसँग दुई डीसीडी, सन्दीप यादव र सुजित ज्ञवालीसहित २० जना आयोजक समितिका सदस्यहरु रहेका छन्। 

समितिले कार्यक्रमको तयारी थालिसकेका छन्। तयारीस्वरुप भदौ २९ गते राष्ट्रिय बाल दिवसका अवसरमा सेन्ट जेभियर्स स्कुलका पूर्वविद्यार्थीहरुसँग यौन दुव्र्यवहारको सिकार भएका बालबालिकाहरुको हेरचाह गर्ने एनजीओलाई सामग्री प्रदान गर्ने उद्देश्यले आर्थिक संकलनमा सहभागिता जनाएको थियो। 

यसका साथै सेप्टेम्बर २७ मा विष्टको अध्यक्षतामा बसेको बैठकले आगामी कार्यक्रमका बारेमा समेत छलफल गरी निर्णय समेत गरेको छ।

निर्देशक विष्टका अनुसार कार्यक्रममा सहभागी हुन इच्छुक टीबीसीका विद्यार्थीहरुले नोभेम्बरको मध्यसम्म आवेदन दिन सक्नेछन्। इच्छुक सहभागीहरुले तीनदेखि पाँच सदस्यहरुको टोली बनाउन सक्नेछन्। टोलीका सदस्यहरु एउटै विश्वविद्यालयको हुनुपर्नेछ। तथापि एकजना सदस्य भने अर्को संस्थाको हुनसक्ने छन्।