–अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षविहीन हुँदा लामो समयसम्म आईपीओ निष्कासन रोकिएको थियो। पछिल्लोपटक गत कात्तिक ४ मा सामलिंग पावर कम्पनीले आईपीओ निष्कासन गरेको थियो। त्यसपश्चात मन्त्रिपरिषद्को बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने निर्णयपश्चात बोर्डबाट कुनै पनि आईपीओ स्वीकृति भएको थिएन।

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्ति प्रक्रियामा ढिलाइ हुने भएकाले धितोपत्र बोर्डले पाइपलाइनमा रहेका कम्पनीहरुलाई धमाधम आईपीओ निष्कासनको स्वीकृति दिन सुरु गरेको छ।

पछिल्लोपटक ६ वटा कम्पनीहरुले आईपीओ निष्कासनको स्वीकृति पाएका छन्। स्वीकृति पाउनेहरुमा जल्पा सामुदायिक लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर्स र इमरजिङ नेपाल रहेका छन्। जल्पा सामुदायिक लघुवित्तले यही माघ २१ मा ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्दैछ। त्यस्तै इमर्जिङ नेपालले यही माघ २६ मा ५५ लाख ५६ हजार कित्ता आईपीओ निष्कासन गर्दैछन्। 

विगतमा कम्पनीहरुले आईपीओ निष्कासन गर्दा सीडीएससीको ‘मेरो सेयर’ को सर्भरमा बारम्बार समस्या आउने गरेको थियो। लगानीकर्ताको संख्या बढ्नुका साथै एकै पटक धेरै लगानीकर्ताले आईपीओमा आवेदन दिँदा मेरो सेयरमा समस्या आउने गरेको सिडीएससीले बताउँदै आएको छ।

तीन महिनाभन्दा बढी समयदेखि कुनै पनि आईपीओ निष्कासन भएको थिएन। यस अवधिमा मेरो सेयर र डिम्याट लिनेहरुको संख्या भने बढेको छ। 

सीडीएससीको पछिल्लो तथ्यांकअनुसार डिम्याट खाता हुनेहरुको संख्या ४८ लाख नाघेको छ। विगतका दिनहरुमा आईपीओ निष्कासनको बेला ‘मेरो सेयर’ नचलेकाले ईडीआईएस गर्न नमिलेर क्लोजआउटमा परेर धेरै लगानीकर्ता मारमा परेका थिए।

सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेका अनुसार विगतका दिनमा आईपीओमा आवेदन दिने लगानीकर्ताको संख्या अचानक बढेकाले समस्या आएको बताए। न्यौपाने भन्छन्, ‘पहिला सिस्टम बनाउँदा हाम्रो आँकलन करिब ५ लाखले आईपीओका लागि आवेदन दिन्छन् भन्ने थियो। तर, आवेदकहरुको संख्या ह्वात्तै बढ्नुका साथै आईपीओमा आवेदन दिनका लागि ४ दिनमात्र हुने भएकाले समस्या आएको थियो। अब त्यो समस्या आउँदैन।’

न्यौपानेका अनुसार सीडीएससीमा हार्डवेयर र सफ्टवेयर थप्नुका साथै अपडेट गरेर करिब ३०–३५ लाखलाई पुग्ने सिस्टमको पूर्ण तयारी भएको बताए। ‘आईपीओ आउँदा पनि अन्य काममा असर नपरोस् भनेर नयाँ किसिमले काम गरेका छौँ’, उनले भने, ‘पछिल्लो एक–डेढ वर्षमा धेरै परिवर्तन भएको छ। त्यसैले तत्काल आईपीओमा आवेदन दिँदा र मेरो सेयरबाट अन्य कामहरु गर्दा कुनै समस्या आउँदैन।’

नियमअनुसार कम्पनीहरूले आईपीओ निष्कासन गर्दा मिति जुधाएर एकै पटक निष्कासन गर्न नमिल्ने व्यवस्था छ। धितोपत्र बोर्डले एकै पटक धेरै कम्पनीहरुलाई आईपीओ निष्कासनको स्वीकृति दिए पनि एकै मितिमा निष्कासन गर्न नमिल्ने भएकाले सिस्टममा समस्या नआउने न्यौपानेले बताए।