काठमाण्डौ । बिजशालाले प्रत्येक आइतबार सेयर बजारका लगानीकर्ताका गन्थनका विषयलाई प्रत्यक्षदर्शी बनी ब्रोकर अफिसमै गएर जस्ताको तस्तै उतार्ने प्रयास गरिरहेको छ ।
यही निरन्तरता अनुरुप हामी यस साता मोफसल बाहिर धरान आइपुगेका छौं ।
नेपालमा रहेका सेयर कारोबारीमध्ये ५ प्रतिशत सेयर लगानीकर्ताको अंश धरानले ओगटेको बताइन्छ । नेपालमा सेयर बजार सुरुवाती भएसँगै धरानबाट सेयरमा लगानी गर्ने लगानीकर्ताहरु उत्तिकै संख्यामा छन् ।
विगत लामो समयदेखि यहाँ व्यापार गर्दै आइरहेका मारवाडी र नेवार समुदायका व्यक्तिहरुको सेयरबजारमा लगानी रहदै आएकोमा अन्य जातजातिका मानिसको पनि उल्लेख सहभागिता बढ्दै गइरहेको छ ।
धरानमा एबीसी सेक्युरिटीज प्रालि अर्थात् ब्रोकर नम्बर १७ र अनलाइन सेक्युरिटीज प्रालि अर्थात् ब्रोकर नम्बर ४९ का शाखा कार्यालयहरुबाट ब्रोकरेज सेवा प्रवाह हुने गरेको छ । वार्षिक कारोबारका आधारमा यी दुवै ब्रोकरहरु टप फाइभभित्रैका ब्रोकर पर्दछन।
साताको सुरु आज आइतबार कारोबार समयको पहिलो प्रहर हामी अनलाइन सेक्युरिटीज धरान–१२ कलेज रोडमा पुग्यौं । ११ बजेदेखि १ बजेसम्म बस्दा डिस्प्ले फ्लोरमा लगानीकर्ताको उपस्थिति थिएन । तर पुनः २ बजे फर्कदा भने एक लगानीकर्ता लाइ बसेका भेटिए । यहीँबाट सेयर खरिदबिक्री गर्न एकाध फोनका अर्डर मात्रै बजिरहेको पाइयो ।
सो ब्रोकर अफिसको कारोबार कक्षमा साढे ११ बजेतिर एक युवा लगानीकर्ताले आगामी सेयर बजारको दिशाबारे जिज्ञासा राख्दै गरेको भेटियो। आउँदै गरेको भिजिट नेपाल–२०२० ले सेयर बजारमा कस्तो प्रभाव पार्ला भन्ने प्रश्न उनले ब्रोकरलाई तेर्साए। केही क्षणपछि सरकारी जागिरबाट रिटायर्ड एक कर्मचारी पनि आइपुगे । अनि एकाध लगानीकर्ता थपिए, तापनि सेयर बजारसँग सम्बन्धित रहेर कुराकानी भने नगरेको पायौं ।
घडीको सुइँले १ बजेको जनाउ दिंदै थियो र हामी धरान २ स्थित सिंहदेवी चोकमा रहेको ब्रोकर अफिस पुग्यौं । त्यहाँ पुग्दा पनि डिस्प्ले हेर्ने लगानीकर्ता शून्य थिए । चकमन्न झैं देखिने सो ब्रोकर कार्यालयमा ब्रोकर र एकजना नयाँ लगानीकर्ता भलाकुसारी गर्दै गरेका भेटिए। व्यवसायी रहेका ती लगानीकर्ता सेयर बजार प्रवेश गरेको भर्खरै दुई महिनामात्रै भएको रहेछ। बजार घटेसँगै उनको पोर्ट्फोलियोमा आएको गिरावटले चिन्तित बनेको प्रष्टै देखिन्थ्यो ।
उनी सेयर बजारबारे तालिम लिन पाए हुन्थ्यो भन्ने भनाइ राख्दै थिए । हालै कारोबारको गति पनि सुस्ताएपछि निक्कै फुर्सदिला बनेका ब्रोकरहरु सेयर बजारबारे आफूले जानेका ज्ञान पनि दिंदै आइरहेका छन् ।
हामी बसिरहेका बखत त्यहाँ पनि एकाध फोन र सेयर खरिदबिक्रीका अर्डर मात्रै आएको थियो। सो ब्रोकर हाउसका योगेश अग्रवालले पनि कम्पनीको विस्तृत अध्ययन र प्रतिफलमा आधारित लगानी उत्तम हुने भन्दै बताइरहेका भेटिए। यसपछि भने सामान्य कुराकानी गरेपछि हामी फर्क्यौ।
राष्ट्रिय चाड दशै तिहारको माहौलसँगै दिनहुँ सुस्ताउँदै गरेको नेप्से इन्डेक्स अनि कारोबार रकममा समेत भएको गिरावटले सेयर बजार प्रभावित बन्दै आइरहेको छ।
पूँजीबजारको विकास तथा विस्तार गर्न ब्रोकरहरुलार्इ विज्ञापनमा लगाइएको अव्यवहारिक प्रतिबन्धले पनि केही बाधा पुगिरहेको हो कि भन्ने धारणा पनि कतिपय लगानीकर्तामा भेटियो ।
नेप्सेले भित्र्याएको अनलाइन प्रणालीप्रति मोफसलका लगानीकर्ताको उत्सुकता समेत कम पाइएको छ। नेप्सेले दाबी गर्दै आइरहेको स्वचालित अनलाइन प्रणालीको प्रयोगमैत्री नरहेको मोफसलका लगानीकर्ताको गुनासो रहेको छ ।
यसका साथै भारित औसत लागत विधीको सहजताका लागि सिडिएससीले बनाएको सिस्टम पनि अपूर्ण बन्न पुग्दा लगानीकर्तामा थप अन्यौलको भूमरीमा परेका देखिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19