काठमाण्डौ । आन्दोलनरत लगानीकर्ताहरुले धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेका छन् । 

जाउलाखेलस्थित बोर्ड कार्यालय घेराउ गर्न पुगेका लगानीकर्ताले आन्तरिक राजश्व विभागले गरेको परिपत्र सही रहेको दाबी गर्ने गिरीले तत्काल जिम्मेवारी त्याग्नुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

गिरीले आइतबार बिजशालासँग कुरा गर्दै आन्तरिक राजश्व विभागको परिपत्र सही रहेको दाबी गर्दै नयाँ व्यवस्थाले विगतमा हुने गरेको कर छलीको अवस्थालाई समेत अन्त गरिदिने बताएका थिए । 

निरज गिरीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै लगानीकर्ता आक्रोशित बनी अवस्था असामान्यतर्फ उन्मुख भएपछि लगानीकर्ताका नेता तथा धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले अवस्थालाई सामान्य बनाउन सहजीकरण गरेका थिए । 

प्रारम्भमा लगानीकर्ताहरुको कुरा सुनिरहेका प्रवक्ता गिरी लगानीकर्ताको समूह उनीविरुद्ध नाराबाजी गर्दै उफ्रन थालेपछि त्यहाँबाट हिँडेका थिए । सो क्रममा आन्दोलनरत केही लगानीकर्ता अराजक बनी गिरीमाथि हातपातको प्रयास समेत गरेका थिए । उनलाई हातपात हुनबाट लगानीकर्ताका नेताले जोगाएका थिए । 

लगानीकर्ताहरुलाई सम्बोधन गर्दै बोर्ड अध्यक्ष रेवतबहादुर कार्कीले आन्तरिक राजश्व विभागको निर्णयको बिषयमा आफूहरुले केही गर्न नसक्ने बताएका थिए । उनले लगानीकर्ताहरुलाई परेको मर्काको बिषयमा सम्बन्धित निकायमा कुरा पुर्याइदिने वचन समेत दिएका थिए । 

अध्यक्ष कार्कीले सम्बोधन गरे पनि लगानीकर्ताहरु प्रवक्ता गिरीको राजीनामा वा बर्खास्त हुनुपर्ने माग गर्दै धितोपत्र बोर्ड परिसरमै बसिरहेका छन् । 

प्रवक्ता गिरीले के भनेका थिए र लगानीकर्ता उनीदेखि रिसाए ? हेर्नुहोस् यो समाचार: