– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजीबजारको विकास र विस्तारका लागि भन्दै तीन किसिमका ब्रोकर सेवा सञ्चालनमा ल्याउने प्रस्ताव गरेको छ। 

सेबोनको मंगलबार बसेको सञ्चालक समिति बैठकले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ को संशोधन मस्यौदा पारित गरेको हो। जसमा तीन प्रकारका ब्रोकर सेवा सञ्चालनमा ल्याउन विभिन्न मापदण्ड तय गरिएका छन्। 

सेबोनको ब्रोकर सेवा सञ्चालनको प्रस्तावले आज पुँजीबजारमा हलचल नै मच्चियो। यो खबरले लगानीकर्ता त उत्साहित देखिन्थे तर ब्रोकर सञ्चालकहरुमा भने तीव्र असन्तुष्ट देखियो। 

केही ब्रोकरले नियामकको नियम मान्नुपर्ने तर्क राखे पनि धेरैजसो ब्रोकरले सेबोनले ब्रोकरको २० करोडको पुँजी बनाएर घाँटीमा तरबार राखेको बताए। ‘यस्तो प्रस्ताव अघिल्लोपटक भीष्मराज ढुंगानाको पालामा पनि आएको थियो तर अर्थ मन्त्रालयको डेस्कमा गएर थन्कियो’, आक्रोशित मुद्रामा एक ब्रोकर सञ्चालकले भने, ‘अब पनि हुन्छ नै भन्ने छैन।’ 

स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले भने सेबोनको ब्रोकर संख्या थप्ने र पुँजीवृद्धिको यो कदमलाई विश्वमै कहीँ नभएको मापदण्ड भन्दै तीव्र असन्तुष्टि पोखे। ‘हामीसँग  एकपटक पनि छलफन नै नगरी सेबोनले मस्यौदा तयार पारेको छ’, उनले भने, ‘हाम्रो ३० वर्षको इतिहासको इमान्दारितामा हिलो छ्याप्ने काम भयो। २० करोडसम्म पुँजी पुर्याउँदा पनि डीपीको काम गर्न नदिएर अहिले गरेका कामलाई सीमित गरिन लागेको छ।’

अहिले २ करोडमा डीपी र ब्रोकरेज सेवा दिइरहेको मैनालीले बताए। ‘मार्जिन सेवा पनि सुरु हुँदै थियो’, उनले भने, ‘डीपी खोसेर जोखिम व्यवस्थापनको एउटा अंग नै ब्रोकरहरुबाट चुडाइँदैछ।’

सेबोनको मस्यौदा हेर्दा नियामकले ब्रोकरको व्यवसाय नै नबुझेको प्रस्ट हुने मैनालीले बताए। सेबोनको यो व्यवस्था स्थापित हुनेमा उनले शंका पनि व्यक्त गरे। 

विश्व बजारको अनुभव बटुलेका मुक्ति अर्याल सेबोनेको ब्रोकरको पुँजी बढाउने प्रस्ताव केही बढी नै भएको बताउँछन्। ‘सेबोनको प्रस्तावबाट जोकोही ब्रोकरेज सेवामा नआओस् भन्ने रहेको बुझ्न सकिन्छ’, रबिन हुड ब्रोकरको उदाहरण दिँदै उनले भने, ‘विश्वका ठूला ब्रोकरहरु पनि सुरुआतमा १ हजार डलरमै स्थापना भएका छन्।’

विदेशमा स्टार्टअप कम्पनी १ हजार वा ५०० डलरबाटै पनि स्थापना हुने गरेको अर्यालले तर्क पेस गरे। ‘पुँजी नै सबै चिज होइन’, उनले भने।