काठमाण्डौ । सेयर बजार सुस्ताउँदो धितोपत्र कारोबारमा भारी गिरावट आएको छ। 

सरकारले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो। सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २ खर्ब ९७ अर्ब ४९ करोड रुपैयाँबराको धितोपत्र कारोबार भएको छ। गत वर्ष यही अवधिमा यस्तो कारोबार १० खर्ब ५३ अर्ब ९८ करोड रुपैयाँ थियो। 
यो हिसाबले समीक्षा अवधिमा धितोपत्र कारोबार ७१.८ प्रतिशतले घटेको छ। 

यसैगरी २०७८ फागुन मसान्तमा ३७ खर्ब ८२ अर्ब ७९ करोड रुपैयाँ रहेको धितोपत्र बजार पुँजीकरण २५.४ प्रतिशतले कम भई २०७९ फागुन मसान्तमा रु.२८ खर्ब २३ अर्ब ६८ करोड कायम भएको छ। 

कुल धितोपत्र बजार पुँजीकरणमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ६४.७ प्रतिशत रहेको छ। त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १३.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा १.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८.४ प्रतिशत रहेको छ।

सर्वेक्षणले धितोपत्र बजारमा लगानीकर्ताको सहभागिताको अवस्था उत्साहजनक रुपमा रुपमा बढेको उल्लेख छ। २०७८ असारसम्म ३७ लाख ८९ हजार डिम्याट खाता (हितग्राही खाता) को संख्या रहेकोमा २०७९ फागुनसम्म उक्त संख्या ५६ लाख ५४ हजार पुगेको छ। यो संख्या कुल जनसंख्याको १९.४ प्रतिशत हो। 

२०७८ असारमा करिब २८ लाख ५० हजारको संख्यामा रहेको मेरो सेयर खाताको संख्या २०७९ फागुनसम्म ४६ लाख ७१ हजार पुगेको छ।