काठमाण्डौ । धितोपत्र बोर्डले निकट भविष्यमै धितोपत्र बजार सम्बन्धी विविध बिषयमा ज्ञान प्रदान गर्न बजार सहभागीहरुको संयुक्त आयोजनामा २ दिने धितोपत्र बजार प्रदर्शनी(सेक्युरिटीज मार्केट एक्स्पो) आयोजना गर्ने भएको छ । 

बोर्ड २५ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजना गरिएका र गरिने कार्यक्रमहरु सार्वजनिक गर्दै मार्केट एक्स्पो समेत आयोजना हुने बताइएको हो । 

यस्तै, बोर्डले धितोपत्र बजारको नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था (International Organisation of Securities Commissions, IOSCO)_ को एशोसिएट सदस्य भईसकेको र नेपालको धितोपत्र बजारका गतिविधि अन्तर्राष्ट्रिय स्तरमा जानकारी गराउने तथा धितोपत्र बजार नियम तथा सुधारसम्बन्धी अनुभव आदान प्रदान गर्ने उद्देश्यले IOSCO सँग मिलेर धितोपत्र बजार सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार कार्यक्रम पनि आयोजना गर्ने बताएको छ । 

रजत जयन्तीको अवसरमा बोर्डले कम्तीमा २५ वटा लगानीकर्ता प्रशिक्षण तथा तालिक कार्यक्रम समेत संचालनमा ल्याइने घोषणा गरेको छ । 

यस्तै, धितोपत्र बजार सुधार तथा विकासका लागि आवश्यक नीति नियममा राय सल्लाह लिन यससँग आवद्ध तथा जानकार अर्थशास्त्री र विज्ञ संलग्न गराई धितोपत्र बजारको सुधार तथा विकास विस्तार सम्बन्धमा कम्तीमा दुईवटा अन्तरक्रिया कार्यक्रम समेत संचालन गरिने बोर्डले बताएको छ ।

बोर्डले यही वर्षभित्र नेपाल सरकार हुलाक सेवा विभागबाट नेपाल धितोपत्र बोर्ड रजत जयन्ती अंकित हुलाक टिकट समेत प्रकाशन गरिने बताएको छ । 

बोर्डले सर्वसाधारणलाई धितोपत्र सम्बन्धी अध्यावधिक ऐन, नियममावली तथा निर्देशिकाको जानकारी प्रदान गर्न ऐन, नियमावली र निर्देशिकालाई अध्यावधिक गरी धितोपत्र सम्बन्धी कानुन संग्रह गर्ने, सर्वसाधारणलाई धितोपत्र सम्बन्धी सचेतता अभिबृद्धि गर्न धितोपत्र बजार साक्षरता पुस्तिका तथा रजत जयन्तीको उपलक्ष्यमा धितोपत्र बजारसम्बन्धी अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन गर्न  केही समयदेखि प्रकाशन हुन नसकेको सेबोन जर्नलको प्रकाशनलाई समेत निरन्तरता दिइने घोषणा गरेको छ । 

रजत जयन्तीकै अवसरमा बोर्डले जेठ २५ गते एक भव्य समारोहको आयोजना गरी विविध कार्यक्रम समेत आयोजना गरेको थियो । सो क्रममा विभिन्न क्षेत्रका व्यक्ति तथा संघसंस्था तथा बोर्डभित्रकै २० वर्षदेखि सेवारत कर्मचारीहरुलाई पुरस्कार तथा सम्मान समेत प्रदान गरिएको थियो ।