काठमाण्डौ । सेयर लगानीकर्ता तिलक कोइरालाले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पैसा खाएर प्राथमिक बजारमा आइपीओको बाढी ल्याएको आरोप लगाएका छन् । 

अध्यक्ष हमालले पुँजीबजार सुुधार र विकासका काममा खासै ध्यान नदिएका कोइरालाको दाबी छ । हमालले निश्चित स्वार्थ समूहका लागि मात्र काम गरिरहेको समेत उनले थप आरोप लगाएका छन् ।  

‘किनकी पुँजीबजार विकास र विस्तारको काममा कमिशन आउँदैन।’ , कोइरालाले भने–‘तर आइपीओलगायत सार्वजनिक निस्कासनमा अनुमति दिंदा कमिसन पाइन्छ ।’

बिहीबार(आज) केही लगानीकर्तालाई लिएर धितोपत्र बोर्ड घेराउ गर्न भन्दै खुमलटार पुगेका कोइरालाले बोर्डको गेटमा भाषण गर्दै हमालको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै प्रश्न उठाएका हुन् । 

‘कान खोलेर सुन्नुहोस्, तपाईले वास्तविक रुपमा बजारको सुधारका लागि काम नै गर्नुभएन । पैसा खाएर जथाभावी आइपीओ स्वीकृति दिने, लगानीकर्ताको काम केही पनि नगर्ने कामहरु भए । बजारमा माग सिर्जना हुने गरी सुधारका काम गर्नुभएन भने एकदिन तपाईले लगानीकर्ताको हजारौं प्रश्नको जवाफ दिनुपर्नेछ ।’ धितोपत्र बोर्डका अध्यक्ष हमाललाई इङ्गित गर्दै कोइरालाले भने–‘अहिले लगानीकर्ताको हितविपरीत केही काम गर्नुभएको छ । यो रफ्तार बढाउँदै लग्नुभएको देखिन्छ । यसले गम्भीर अवस्था निम्त्याउनेछ ।’

उनले नेपालको पुँजीबजार अधिक आपूर्तिले गम्भीर संकटको क्षणबाट गुज्रिरहेको समेत उनको दाबी छ । 

उनलाई पत्रकारहरुले ‘बोर्ड अध्यक्ष हमालले पैसा खाएको आधार र प्रमाण के हो ?’ भनेर प्रश्न गर्दा कोइरलाले अध्यक्षले लगानीकर्ताको भन्दा कुनै निश्चित स्वार्थ समूहको पक्षमा काम गरेको आरोप लगाए । उनले थपे–‘हामीले यसअघि भएका सहमतिअनुसारको कामहरु खुरु खुरु गर्दै गए हुन्छ । हामीलाई भेटेर समय खेर फाल्नु पर्दैन । हामी कारोबारबाहेकको कमिशन दिन सक्दैनौ ।’

कोइरालाले आज धितोपत्र बोर्डको खुमलटारस्थित मुख्यालय घेराउ गर्ने भन्दै लगानीकर्तालाई साथ र सहयोगका लागि आह्वान गरेका थिए । तर, उनको आजको खबरदारी कार्यक्रममा लगानीकर्ताको उपस्थिति निकै न्यून थियो । 

पछिल्लो समय जब–जब बजार घट्न थाल्छ, तब–तब कोइराला विरोधका कार्यक्रम गर्न थालिहाल्छन् । बजार बढुञ्जेल चाहिँ उनी आफ्ना सारा माग बिर्सिएर कारोबारमै मस्त हुने गर्छन् ।