काठमाण्डौ । धितोपत्र बोर्डले मौद्रिक नीतिको पूर्व सन्ध्यामा धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रमको बिषयमा सम्बद्ध क्षेत्रबाट सुझाव लिएको छ  ।

मंगलबार एक कार्यक्रमबीच सम्बन्धित क्षेत्रका विज्ञ तथा अधिकारीहरुबाट बोर्डले आगामी वर्षका लागि आफूले तर्जुमा गर्दा समावेश गर्नुपर्ने कार्यक्रमको बिषयमा सुझाव संकलन गरेको हो । 

बोर्डका पूर्व अध्यक्ष दीपकराज काफ्लेले धितोपत्र बजार प्रशिक्षण प्रतिष्ठानको स्थापनलाई तीव्र रुपमा अघि बढाउनुपर्ने, आवश्यक परेको खण्डमा बोर्डमा बाह्य विज्ञको व्यवस्था गर्नुपर्ने, नीतिगत तथा कानूनी व्यवस्था गर्दा सर्वसाधारण तथा सरोकारवालाहरुको धारणा, सल्लाह तथा सुझावलाई मध्यनजर गर्न उपयुक्त नीति तथा प्रक्रिया अवलम्बन गर्नुपर्ने लगायतका सुझावहरु दिए । 

बोर्डको अर्का पूर्व अध्यक्ष बाबुराम श्रेष्ठले वर्तमान समयमा पूँजी बजारको चर्चा तथा परिचर्चा चुलिन थालेको बताउँदै कर सम्बन्धी विवादको शीघ्र समाधान हुनुपर्ने, बजार निर्मातालाई भित्र्याउनुपर्ने, संघीयताको स्वरुप अनुसार पूँजी बजारलाई परिवर्तन गर्नुपर्ने लगायतका सुझावहरुव दिए । 

यस्तै, नेप्सेका पूर्व महाप्रबन्धक मुकुन्दनाथ ढुङ्गेलले अध्ययन अनुसन्धानमा आधारित भई पूँजीबजारको विकास गर्नेतर्फ विशेष जोड दिन आवश्यक भएको बताए । 

साथै नेप्सेका वरिष्ठ अधिकृत निरञ्जन फुयाँलले पछिल्लो समय नेप्सेले बोर्डसँग सहकार्य गरी विभिन्न अन्र्तक्रिया कार्यक्रम सञ्चालन गर्न थालेको बताउँदै आगामी दिनमा सो कार्यलाई निरन्तरता दिनुपर्ने र यस्ता प्रशिक्षण कार्यक्रम विभिन्न सरकारी निकायका अधिकृत कर्मचारीहरुका लागि समेत आवश्यक देखिएको धारणा राखे ।

उनले नेप्सेका सिस्टम अडिटका लागि आवश्यक मापदण्डहरु/मानकहरु विकास गर्न सकेको खण्डमा उक्त कार्य अझ प्रभावकारी हुने बताए । सोही कार्यक्रममा सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताले डिपोजिटरी ऐन तथा ट्रष्ट ऐनको व्यवस्था यथाशिघ्र आवश्यक भएको बताए । कार्यक्रममा इक्रा नेपाल लिमीटेड तथा केयर नेपाल लि.का प्रतिनिधिहरुले निष्काशन हुने धितोपत्रको मात्र रेटिङ्ग हुने गरेको बताउँदै यस्तो रेटिङ्ग नियमित हुने व्यवस्था भएमा लगानीकर्तालाई निर्णय लिन सहज हुने बताउँदै प्रत्यक्ष नियमन नहुने संगठित संस्थाको वित्तीय विवरणमा एकरुपता ल्याउनुपर्ने धारणा राखे । साथै, रेटिङ्ग सेवा लिने कम्पनीहरुले रेटिङ्ग संस्थाबााट माग गरिएका विवरणहरु उपलब्ध गराउनमा ढिलाई गर्ने गरेकाले रेटिङ्ग कार्यमा ढिलाई तथा कठिनाई समेत हुने गरेको र यसमा सुधारका लागि नियमन निकायले आवश्यक निर्देशन दिनुपर्ने बताए ।

कार्यक्रममा मर्चेन्ट बैंकर्स एशोसियसन अफ नेपालका अध्यक्ष ध्रुवप्रसाद तिमिल्सनाले चालु आवमा बजार विकास तथा विस्तारका लागि बोर्डले चालेका कदमहरुको प्रशंसा गर्दै पूँजीबजारमा वास्तविक क्षेत्रको प्रवेशका क्रममा धितोपत्रको निष्काशन मूल्य तथा अन्डराइटिङ्ग प्रक्रियामा संवेदनशील हुनुपर्ने, भेञ्चर क्यापिटल तथा प्राइभेट इक्विटीको नीतिगत व्यवस्थासँगै संस्थागत व्यवस्थातर्फ पनि ध्यान दिनुपर्ने, दोस्रो बजारमा बढेको धितोपत्रको आपूर्तिलाई सन्तुलनमा ल्याउन मार्केट मेकर तथा डिलरको व्यवस्था गर्नुपर्ने लगायतका सुझावहरु दिए । उनले बजारको विकास तथा विस्तारका लागि बोर्ड मात्र नभएर बजारका सम्पूर्ण सहभागीहरु समेत उत्तिकै जिम्मेवार रहनुपर्ने बताए । 

त्यस्तै, स्टक ब्रोकर एशोसियसन अफ नेपालका अध्यक्ष प्रियराज रेग्मीले दोस्रो बजारको पहुँच विस्तार हुने क्रममा रहेकोमा अनलाइन कारोबार प्रणालीसँगै धितोपत्र बजारका अन्य सेवाहरु पनि देशव्यापी रुपमा सर्वसुलभ हुनुपर्ने बताए । उनले अनलाइन कारोबार प्रणाली लागू गर्न सम्बन्धित ऐन तथा नियमावलीमा पनि आवश्यक व्यवस्था गर्नुपर्ने धारणा राखे । दोस्रो बजारको कारोबारमा निहित जोखिम व्यवस्थापनका लागि आवश्यक संयन्त्रको विकास गर्नुपर्ने, अल्पकालीन औजारहरुको व्यवस्थाका साथै धितोपत्र दलाल व्यवसायीको संस्थागत विकासतर्फ समेत ध्यान दिनुपर्ने बताए । 

शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले प्राथमिक बजारको नियमन, सुधार तथा विकासका लागि बोर्डले गरेका कार्यहरु उत्कृष्ट रहेको र दोस्रो बजारको सुधार तथा विकासका लागि समेत सोही अनुसारको पहल गर्नुपर्ने धारणा राखे । उनले हकप्रद तथा बोनस सेयर सूचीकरणमा ढिलाई हुने गरेको, सूचीकृत कम्पनीको बोर्ड बैठकमा भएका निर्णयहरुको उचीत सम्प्रेषण नहुने गरेकोमा यसतफ बोर्डको ध्यान जानुपर्नेमा जोड दिए ।

यस्तै, नेपाल पूँजी बजार लगानीकर्ता संघका अध्यक्ष नवराज सुवेदीले अबको धितोपत्र बजार पूर्णतया पूर्वाधारमैत्री, प्रविधिमैत्री हुनुपर्ने धारणा राख्दै प्रत्येक त्रैमासिक अवधिमा बोर्डले कम्तीमा एकपटक सार्वजनिक सुनुवाई कार्यक्रम राख्नुपर्ने, दोस्रो बजारमा लाग्ने गरेको ब्रोकर कमिशन छिमेकी बजार लगायत विश्वका अन्य धितोपत्र बजारको तुलनामा निकै बढी भएकोले ब्रोकर कमिशनलाई पुनरावलोकन गर्नुपर्ने तथा सूचना सम्प्रेषणमा आवश्यक सुधार ल्याउनुपर्र्ने बताए । 

साथै, नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटलाल रौनियारले पूँजीगत लाभकर सम्बन्धी विवादले बजारलाई हतोत्साही बनाएको तथा दीर्घकालीन अवधिका लागि लगानी गर्ने लगानीकर्तालाई निरुत्साहित बनाएकोमा चिन्ता व्यक्त गरे । उनले अनलाइन कारोबार प्रणालीको शीघ्र कार्यान्वयन गर्नुपर्ने, बैकलाई ब्रोकरको अनुमति दिनुपर्ने, एनआरएन तथा बजार निर्माता प्रवेशलाई सहजीकरण गर्न ढिलाई गर्न नहुने, नेप्सेको निजीकरण तथा पुर्नसंरचनालाई टुङ्गोमा पुर्याउनुपर्ने, मार्जिन ऋणको वर्तमान व्यवस्था तथा बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत रहेकोमा यसप्रति पुनरावलोकन गर्न आवश्यक पहल गर्नुपर्ने बताए । उनले जलविद्युत क्षेत्रको लगानीमा जोखिम बढ्दै गएको बताउँदै यसको प्रभावकारी नियमन गर्नुपर्ने, लगानीकर्ता संरक्षण ऐन ल्याउनुपर्ने सुझाव दिए । 

बोर्ड अध्यक्ष डा. रेवत कार्कीले पछिल्लो समय दुर्गम जिल्लाहरुमा समेत पूँजी बजारका गतिविधिहरु सञ्चालन हुन थालेको, पूँजी बजारको सम्बन्धमा लगानीकर्ताबाट हुने गुनासाहरुमा कमी हुँदै गएको बताउँदै कार्यक्रममा प्राप्त भएका रचनात्मक सुझावहरुलाई समावेश गरी आगामी वर्षको नीति तथा कार्यक्रम जारी गर्न बोर्ड प्रतिवद्ध रहेको बताए । 

बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने धितोपत्र बजारको वर्तमान अवस्था, बोर्डको कार्य प्रगति र छलफलका विषयहरु सम्बन्धमा बोर्डका निर्देशक डा.नवराज अधिकारीले प्रस्तुति दिएका थिए ।