काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले भदौमा तीन विकास बैंक र एक लघुवित्त कम्पनीलाई ७३ करोड बराबरको हकप्रद निश्कासनको स्वीकृति दिएको छ । 

मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक र लक्ष्मी लघुवित्त बित्तीय संस्थाले हकप्रद निश्कासनको स्वीकृति पाएका हुन् । 

सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले ४१ करोड ९२ लाख मूल्य बराबरको हकप्रद निश्कासनको अनुमति पाएको हो । धितोपत्र बोर्डका अनुसार मुक्तिनाथ विकास बैंकले ५० प्रतिशत(२ बराबर १)को दरले ४१ लाख ९२ हजार कित्ता सेयर निश्कासन गर्नेछ । राष्टबैंकले तोके अनुसारको चुक्तापूँजी आफ्नै प्रयासमा पुर्याउने कसरतमा रहेको यो बैंकको चुक्तापूँजी ८४ करोड रुपैयाँ रहेको छ । हकप्रद निश्कासनपछि चुक्तापूँजी १ अर्ब २९ करोडको हाराहारीमा पुग्ने बताइएको छ । 

आर्थिक वर्ष २०७२/७३ मा मुक्तिनाथ विकास बैंकले ३५ करोड ८८ लाख खूद नाफा आर्जन गरेको छ । 

मुक्तिनाथ विकास बैैंकको हकप्रद निश्कासन र व्यवस्थापनका लागि एनआइबिएल क्यापिटलले प्रबन्धकको रुपमा काम गरिरहेको छ । 

यसैगरी, लक्ष्मी  लघुवित्त बित्तीय संस्थाले समेत १ सय रुपैयाँ अंकित मूल्यको ११ लाख कित्ता हकप्रद निश्कासनका लागि भदौ १३ गते बोर्डबाट स्वीकृति पाएको छ । यो संस्थाले सतप्रतिशत हकप्रदको स्वीकृति पाएको हो । हाल ११ करोड रुपैयाँ चुक्तापूँजी रहेको यो संस्थाको हकप्रद निश्कासनपछि चुक्तापूँजी २२ करोड पुग्नेछ । लक्ष्मीको हकप्रद निश्कासन तथा व्यवस्थापनमा एनएमबी क्यापिटलले बिक्री प्रबन्धकको काम गरिरहेको छ । 

उता, धरानमा मुख्य कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंकले भदौ १५ गते धितोपत्र बोर्डबाट २ बराबर १ अर्थात  ५० प्रतिशत हकप्रद निश्कासनको अनुमति पाएको छ । यो बैंकले १० लाख ५६ हजार कित्ताको १० करोड ५६ लाख मूल्यको हकप्रद निश्कासनको स्वीकृति पाएको हो । यो बैंकको चुक्तापूँजी २१ करोड १२ लाख रुपैयाँ रहेको छ । हकप्रद निश्कासनपछि बैंकको चुक्तापूँजी करिब ३२ करोड पुग्नेछ । यो विकास बैंकले आर्थिक वर्ष २०७२/७३ को अवधिमा ९ करोड ७२ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो । मितेरीको हकप्रद निश्कासन र व्यवस्थापनमा प्रभू क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । 

नेपाल धितोपत्र बोर्डले भदौ १५ गतेकै मितिमा अरनिको डेभलपमेन्ट बैंकलाई १०ः३.६ को अनुपातमा ९ लाख २८ हजार कित्ता हकप्रद निश्कासनको अनुमति दिएको छ । १ सय रुपैयाँ अंकित मूल्यले कुल ९ करोड २८ लाख रुपैयाँको हकप्रद निश्कासन र व्यवस्थापनमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । यो बैंकको हाल चुक्तापूँजी २५ करोड ७८ लाख रुपैयाँ रहेको छ । हकप्रद निश्कासनपछि बैंकको चुक्तापूँजी ३५ करोड ६ लाख बढी पुग्नेछ । यो बैंकले आर्थिक वर्ष २०७२/७३ को अवधिमा ५ करोड ८४ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो ।