काठमाण्डौ । नेपालको पूँजीबजारमा लगानीकर्ताको सेयर कारोबारलाई मध्यस्थता गर्दै आएका धितोपत्र दलाल व्यवसायी(ब्रोकर)हरुलाई सो नामले सम्बोधन गर्न पाइने दिन धेरै बाँकी छैन । 

नेपालको सन्दर्भमा ‘दलाल’ वा ‘दलाली’ भन्ने शब्दले गलत सन्देश प्रवाह हुने भन्दै धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ६३ लाई संसोधन गर्ने प्रक्रिया अगाडि बढाएको हो । 

सो ऐनको दफा ६३ को उफदफा १ को खण्ड ‘क’ मा धितोपत्र व्यवसायलाई विभाजन गर्ने क्रममा धितोपत्र दलाली, धितोपत्र व्यापार, निश्कासन तथा बिक्री प्रबन्ध, लगानी व्यवस्थापन, लगानी परामर्श सेवा लगायत १० किसिममा विभाजन गरेको छ । 

यसमा ‘धितोपत्र दलाली’लाई भन्ने शब्दावलीलाई परिवर्तन गरी ‘धितोपत्र खरीद बिक्री गर्ने सेवा’ भन्ने शब्दावली राखिएको छ ।

बोर्डले यो संसोधनलाई पारित गरी माथिल्लो निकायमा पठाइसकेको छ ।

नियमावलीमा परिवर्तन भएर आउँदा अब धितोपत्र दलाललाई ‘धितोपत्र खरीदबिक्री सेवाप्रदायक’ भनी परिभाषित गरिनेछ । 

‘हाल यो ऐन संसोधनको कुरा कानून मन्त्रालयमा पुगेको भन्ने कुरा सुनेका छौ ।’धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले भने–‘ऐन अर्थमन्त्रालयबाट पारित भएपछि त्यसलाई हामी नियमावली बनाई कार्यान्वयनमा ल्याउँछौ । त्यसपछि ब्रोकर(दलाली) भन्ने शब्द हट्छ ।’