काठमाण्डौ । धितोपत्र बोर्डले आन्दोलनमा उत्रिने घोषणा गरेका धितोपत्र दलाल व्यवसायीलाई लगानीकर्तालाई असुविधा हुने र बजारमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । 

बोर्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै ब्रोकरहरुलाई संयमित भई र आफ्नो व्यवसायिक मर्यादा राखी पूँजीबजारको विकास र बिस्तारमा सहयोग गर्न आह्वान गर्दै ब्रोकरका समस्या छलफलबाट सम्बोधन गर्न आफूहरु तयार रहेको भन्दै आन्दोलन नगर्न आग्रह गरेको हो । 

प्रवक्ता निरज गिरीद्वारा प्रकाशित विज्ञप्तिमा संघीय संसदको अर्थसमितिले फागुन ७ गते बोलाएको छलफलमा नियामक निकायको तर्फबाट वोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले धितोपत्र दलाल व्यवसायीहरु प्रतिस्पर्धी हुनुपर्ने, व्यवसायको पहुँच विस्तार गर्नुपर्ने लगायतका धितोपत्र व्यवसाय तथा वजार बिकास तथा विस्तारका सम्वन्धमा अभिव्यक्ति दिएको जिकिर गरिएको छ । सो अभिव्यक्तिलाई अन्यथा रुपमा लिइएको र सो सम्वन्धमा व्यवसायीहरुसंग वोर्डमा छलफल समेत गरी स्पष्ट समेत गराईसकिए पनि ब्रोकरहरुले एक्कासी आन्दोलनको घोषणा गरेको भन्दै आश्चर्य व्यक्त गरिएको छ । 


विज्ञप्तिमा बोर्डलाई थप स्वात्तता प्रदान गरी यसको कामलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरकारले धितोपत्र सम्बन्धी ऐन, २०६३ को संसोधन प्रक्रिया अगाडि बढाइसकेको उल्लेख गर्दै विगतमा बोर्डले ब्रोकरहरुको हितका लागि गरेका केही कामको विषयमा समेत चर्चा गरिएको छ । 

विगत केही वर्ष देखि धितोपत्र दलाल व्यवसायी सेवालाई मूल्य अभिवृद्धि करमा आवद्घ गर्ने सम्वन्धमा समस्या रहेकोमा वोर्डको पहलमा नेपाल सरकारले धितोपत्र दलाल व्यवसायलाई मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था गरी वित्तीय मध्यस्थकारी संस्थाको मान्यता दिएको, मार्जिन कारोवार सुविधा उपलब्ध गराउने कार्र्य कार्यान्वयनमा ल्याउन नेप्से र धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिइएकोमा सो कार्यान्वयनमा आउन लागेको विषय बोर्डले स्मरण गराएको छ । 

यस्तै, धितोपत्र दलाल व्यवसायी संस्थालाई सुदृढ गर्दै काठमाण्डौ उपत्यका वाहिर ४१ स्थानमा शाखा खोल्न स्वीकृत दिइएको तथा अन्य आठ ठाँउमा शाखा खोल्न पूर्व स्वीकृति दिइएको, अन्य जिल्ला र स्थानहरुमा नियामक निकायहरुको संस्थागत तथा प्राविधिक क्षमता, धितोपत्र दलाल व्यवसायीको क्षमता तथा आर्थिक सक्रियताको हिसावले प्रतिस्पर्धात्मक र गुणात्मक रुपमा अगाडि बढाउन एवं धितोपत्र दलाल व्यवसायीलाई धितोपत्र व्यापारी(डिलर)को रुपमा कार्य गर्ने सम्वन्धमा नियमावली संशोधनको प्रक्रिया अगाडि बढाइसकिएको समेत बोर्डले दाबी गरेको छ ।