काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले सेयर लगानीकर्ता दवाब समूहले धाकधम्की दिएको भन्दै बोर्ड व्यवस्थापन र सरकारसमक्ष सुरक्षा मागेको छ । 

युनियन सोमबार एक विज्ञप्ति जारी गर्दै चैत १० गते धितोपत्र बोर्डमा दवाब समूहले अकस्मात तालाबन्दी गरेको र सो क्रममा अर्थमन्त्रालय, धितोपत्र बोर्ड संचालक समितिका अधिकारी र बोर्डका कर्मचारीमाथि दुव्र्यवहार र गालीगलौज गरेको भन्दै आपत्ति समेत जनाएको छ ।

सो घटनाप्रति खेद व्यक्त गर्दै युनियनले सुरक्षा मागेको हो । 

बोर्ड तथा बोर्डका कर्मचारीहरुबाट कुनै अनियमितता वा साधन स्रोतको दुरुपयोग गरेको पाइएमा कानूनद्वारा स्थापित राज्यका निकायहरुद्वारा आवश्यक कारबाही गर्ने कानूनी व्यवस्था रहेको उल्लेख गर्दैै बोर्ड कर्मचारीलाई कार्यसम्पादनको क्रममा दवाब समूह नामका केही व्यक्तिहरुबाट जिउधनमाथि धम्की तथा आचरणमा गम्भीर लाञ्छना लगाउने काम भएकोमा युनियनले रोष प्रकट गरेको छ । 

विज्ञप्ति युनियनका अध्यक्ष राजबहादुर जिसीले जारी गरेका हुन् । जिसी तिनै पात्र हुन्, जो दवाब समूहले अकस्मात तालाबन्दी गर्दा धितोपत्र बोर्डभित्रै थुनिएका थिए । तालाबन्दीको केही घण्टापछि उनलाई बाहिर निकाल्ने बाहानामा सुरक्षाकर्मीको दलबलले बोर्डको मूल गेटमा लगाइएको ताला फोडेको थियो । 

बोर्डको तेश्रो तलामा रहेका बिसी र लगानीकर्ताबीच धाकधम्कीको भाषामा सवालजवाफ समेत भएको थियो । कतिपय लगानीकर्ताले जिसीलाई नै इंगित गर्दै छातिमा गोली ठोक भन्दै रोष प्रकट गरिरहेका भिडियो समेत बिजशालाले सार्वजनिक गरिसकेको छ । 

बोर्ड परिसरमा सो दिन भएको घटनालाई लिएर कर्मचारी युनियनले सुरक्षा मागिरहँदा सेयर लगानीकर्ता दवाब समूह भने सो दिन आफूहरुमाथि बोर्डका उच्च अधिकारीको डिजाइनमा दमन भएको भन्दै त्यसको प्रतिवादस्वरुप सोमबारदेखि नेप्सेको मुख्य कार्यालयमा अनिश्चितकालीन रिले अनसनमा बसेका छन् ।