काठमाण्डौ । दोस्रो बजार वियरिस ट्रेण्डमा चलिरहेका बेला नियामक नेपाल धितोपत्र बोर्डले पूँजी बजार सुधार तथा विकासका लागि हालसम्म गरेका र प्रक्रियामा रहेका पहलहरुको फेहरिस्त सार्वजनिक गरेको छ ।

बोर्डद्वारा जारी विज्ञप्तिमा बोर्डले धितोपत्र बजारको विकास, विस्तार तथा सुधारका लागि नेपाल सरकारको बजेट कार्यक्रम, आवधिक योजना, नेपाल सरकारको वित्तीय क्षेत्र विकास रणनीति, मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिहरुको समग्र मूल्यांकन गरी वित्तीय स्थायीत्व एवम् लगानीका लागि स्रोत व्यवस्थापन सम्बन्धी सुझाव समितिको प्रतिवेदन, धितोपत्र बजारको अवस्था तथा सरोकारवालाहरूको सुझाव समेतका आधारमा  नीति तथा कार्यक्रमहरू तर्जुमा गरी कार्यान्वयन गर्दै आएको जनाएको छ । 

धितोपत्र बजारको सुधार, विकास तथा विस्तारका लागि धितोपत्रको दोस्रो बजारमा माग पक्षलाई सम्बोधन गर्ने उद्धेश्यले धितोपत्र बजारमा स्टक डिलरको प्रवेश गराउन बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ को संशोधन पारित गरी स्वीकृतिका लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा पेश गरेको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैगरी हाल बैंकको प्रवद्र्धनमा मात्र सामूहिक लगानी कोष सञ्चालनमा रहेकोमा यस क्षेत्रमा बीमा कम्पनी तथा विशेष ऐनद्वारा स्थापित कम्पनीहरूलाई समेत प्रवेश गराउने प्रकृया अगाडि बढाइएका बताइएको छ । 

धितोपत्रको माग बढाउने उद्देश्यले धितोपत्र खरिदमा मार्जिन कारोबारको व्यवस्था गरिएको बोर्डको बुझाइ छ । लगानीकर्ताहरुलाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउन हाल १६ वटा धितोपत्र दलाल व्यवसायीहरूलाई अनुमति प्रदान गरिएकोमा केही धितोपत्र व्यवसायीहरुले लगानीकर्ताहरुलाई मार्जिन कारोवार सुविधा उपलब्ध गराइसकेका बोर्डले दाबीसमेत गरेको छ । यसैगरी धितोपत्रको दोश्रो बजारको पहुँच अभिवृद्धिका लागि देशका प्रमुख आर्थिक केन्द्रहरूमा धितोपत्र दलाली सेवा विस्तार गर्दै लागिएको बोर्डको भनाइ छ ।  आगामी दिनमा यसलाई थप क्षेत्रमा विस्तार गरिने बोर्ड बताउँछ । जारी विज्ञप्ति अनुसार हकप्रद शेयर निष्काशनमा हाल लगानीकर्ताहरुले आफ्नो हकसम्मको मात्र आवेदन दिन सक्ने व्यवस्था रहेकोमा आगामी दिनमा लगानीकर्ताले आफ्नो हक भन्दा शत प्रतिशतसम्म बढी आवेदन दिन सक्ने गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को संशोधन पारित गरी संशोधन प्रकृया अगाडि बढाइएको बोर्डले बताएको छ । नेपाल सरकारको वित्तीय क्षेत्र विकास रणनीति अन्तर्गत रहेको नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से) को पुर्नसंरचना गर्ने रणनीति अनुरूप हाल नेप्सेमा रहेको नेपाल राष्ट्र बैंकको शेयर विनिवेश गर्ने कार्य अगाडि बढिरहेको छ । यसबाट नेप्से थप व्यवसायिक एवं प्रभावकारी हुने बोर्डको अपेक्षा छ ।

धितोपत्र बजारमा लगानीकर्ताहरुको सहभागिता बढाउँदै लैजान देशका विभिन्न स्थानमा लगानीकर्ता प्रशिक्षण कार्यक्रम तथा रेडियोमार्फत् पूँजी बजारसम्बन्धी कार्यक्रमहरु सञ्चालनमा ल्याइएको उल्लेख गर्दै भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी फण्डलाई धितोपत्र बजारमा प्रवेश गराउने उद्देश्य अनुरूप विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ लागू गरिएको बोर्डको भनाइ छ । उक्त नियमावली अन्तर्गत हाल ५ वटा कोषहरूले अनुमतिका लागि बोर्डमा निवेदन पेश गरेकोमा सोे विषय अध्ययन भइरहेको बोर्डको दाबीसमेत छ । 

यसैबीच धितोपत्रको दोस्रो बजारलाई स्वच्छ एवं पारदर्शी बनाउनका लागि बजारमा हुन सक्ने भित्री कारोबारलाई निरूत्साहित गर्न भित्री कारोबार निषेधसम्बन्धी नियमावली, २०७६ बोर्डबाट पारित गरी उक्त नियमावली स्वीकृतिको चरणमा रहेको बोर्डको जिकिर छ । 
नेपाल सरकार, बोर्ड तथा अन्य निकायहरुबाट भइरहेका उपर्युक्तानुसारको कामकारवाहीहरुबाट धितोपत्र बजार पारदर्शी, स्वस्थ एवं प्रभावकारी भई बजारको दिगो विकासमा सघाउ पुग्ने बोर्डको अपेक्षा राखेको छ ।