काठमाण्डौ । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगानालाई नियुक्त गरेको छ । 

सोमबार बसेको मन्त्रीपरिषद बैठकले ढुंगानालाई बोर्ड अध्यक्षमा नियुक्तिको निर्णय गरेको हो । उनलाई रेवतबहादुर कार्की बोर्ड अध्यक्षबाट अवकाश हुनुुभन्दा केही साताअघि बोर्डकै विज्ञ सदस्यको रुपमा नियुक्त गरिएको थियो । 

सो बेलादेखि नै उनलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने योजनाका साथ विज्ञ सदस्य बनाइएको चर्चा भएको थियो । 

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फूयाँलको संयोजकत्वमा गठित छनौट तथा सिफारिस समितिले बोर्ड अध्यक्षका लागि परेका आवेदनमध्येबाट ५ जनाको सर्टलिस्ट बनाएको थियो । ती पाँचमध्येबाट पनि ३ जनालाई छनौट गरी मन्त्रीपरिषदमा सिफारिस गरिएको थियो। सिफारिस तीन नाममध्ये ढुंगानालाई बोर्ड अध्यक्ष बनाउने निर्णय भएको प्रधानमन्त्री कार्यालयस्थित स्रोतले जनाएको छ।

ढुंगानासँगै बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र डा. केशवप्रसाद श्रेष्ठको नाम पनि सिफारिस गरिएको थियो । तर, सिफारिस भएका अन्य २ नामलाई छाडेर क्याबिनेटले ढुंगानाको नाममा नियुक्तिको निर्णय गरेको हो । 

ढुंगाना राष्ट्रपति विद्यादेवी भण्डारीनिकट मानिन्छन् । सरकारका पछिल्ला अधिकांश निर्णयहरुमा राष्ट्रपतिको इच्छाले ठाउँ पाउन थालेको छ । यसैको पछिल्लो संस्करण बोर्ड अध्यक्षको नियुक्ति भएको छ । 

बोर्डको अध्यक्षको रुपमा नियुक्त ढुंगाना नेपाल राष्ट्रबैंकको कार्यकारी निर्देशकबाट रिटायर्ड व्यक्ति हुन् ।