काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपालमा क्रेडिट रेटिङ्ग संस्था स्थापनाका लागि हालै सहमतिपत्र प्रदान गरेको क्रेडिट एनेलिसिस एण्ड रिसर्च लिमिटेड, मुम्वई, इण्डिया (Credit Analysis and Research Limited, Mumbai, India) को चुक्तापूँजी ५ करोड रुपैयाँ हुनुपर्ने प्रस्ताव गरेको छ । 

क्रेडिट रेटिङ्ग नियमावली, २०६८ वमोजिम क्रेडिट रेटिङ्ग व्यवसाय गर्न चाहने कम्पनीको चुक्ता पूँजी कम्तिमा दुई करोड रुपैयाँ हुनुपर्ने व्यवस्था रहे पनि सो कम्पनीको चुक्ता पूँजी ५ करोड हुने प्रस्ताव गरिएको हो । 

बोर्डका अनुसार सोमध्ये ५१ प्रतिशत सेयर क्रेडिट एनेलिसिस एण्ड रिसर्च लिमिटेडले र अन्य सेयर नेपाली व्यवसायीहरु एवं संगठित संस्थाहरुको लागि प्रस्ताव गरिएको छ । यो कम्पनीले नेपालमा क्रेडिट रेटिङ्ग व्यवसायका लागि प्रचलित कानून बमोजिम कम्पनी स्थापना गर्नुपर्ने र यसरी स्थापित कम्पनीले क्रेडिट रेटिङ्ग व्यवसाय गर्ने अनुमतिपत्रका लागि वोर्डमा निवेदन दिनु पर्ने प्रावधान रहेको छ ।
 
सार्वजनिक रुपमा धितोपत्र निष्काशन गर्न चाहने कम्पनीहरुको creditworthiness निर्धारण गरी लगानीकर्ताहरुलाई धितोपत्रमा लगानी गर्नुअघि सुसूचितपूर्ण निर्णय लिन सहयोग पुर्याउने व्यवस्थाका लागि धितोपत्र बजारमा क्रेडिट रेटिङ्ग कम्पनीको प्रवेशलाई प्रोत्साहन गर्नुुपर्ने बोर्डको ठहर छ । 

हाल नेपालमा इक्रा नेपाल नामको एकमात्र क्रेडिट रेटिङ्ग कम्पनी छ । थप क्रेडिट रेटिङ्ग संस्थाको प्रवेशले क्रेडिट रेटिङ्ग व्यवसाय प्रतिस्पर्धी भई यसको व्यवसायीक स्तर बढ्न जाने तथा सेवाग्राहीले अझ सहज एवं सरल ढंगले सेवा प्राप्त गर्न सक्ने बोर्डको दाबी छ ।