काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ब्रोकरद्वारा प्रवाह हुने मार्जिन कारोबारमा भएको समस्या अध्ययनबारे प्रतिवेदन पेश गर्न नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) र ब्रोकर्स एसोसिएसनलाई पत्राचार गरेको छ ।

हिजो बोर्डले नेप्से र ब्रोकर्स एसोसिएन दुवैलाई मार्जिन कारोबार प्रवाहमा भएका समस्याहरु बारे प्रतिवेदन माग गरेको बोर्ड स्रोतले जनाएको छ । 

गत वर्ष असारमा नै नेप्सेद्वारा मार्जिन कारोबार गर्न अनुुमति पाएका २१ ब्रोकर कम्पनीहरुमध्ये हालसम्म २ ब्रोकर कम्पनीबाट २ वटा मार्जिन कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले थप गरेको नयाँ प्रडक्ट मार्जिन कारोबार सुविधामा सेयर लगानीकर्ताहरुले चासो देखाएका छैनन् ।

मार्जिन कारोबार सेवा सुचारु भएपछि यसले बजारमा सकारात्मक तरङ्ग ल्याउँछ भन्ने विश्लेषण समेत यसका केही अप्ठ्यारा शर्त, सीमा र बन्देजहरुले गलत साबित गरिदिएको छ ।

घट्दो बजारमा मार्जिन ऋण लिएर सेयर खरिद गर्दा मुनाफा नदेखेपछि लगानीकर्ताहरुले मार्जिन कारोबारको अनुमति पाएका २१ धितोपत्र दलाल सदस्य(ब्रोकर)बाट यो सुविधाका लागि रुचि नै नदेखाएका पाइएको हो ।

घट्दो सेयर बजार, अनिश्चित ब्याजदर, प्रक्रियामा अस्पष्टता, कम्पनी छनौटमा सीमितता र वास्तविक ज्ञानको अभाव भएकाले र यसमा लगानीकर्ताहरुको लगाव कम भएको ब्रोकरहरुको दाबी छ ।

गत वर्षको भदौ २६ गते नेप्सेले मार्जिन ऋण प्रवाहका लागि सार्वजनिक गरेको सूचिकृत ३३ कम्पनीहरुमा वाणिज्य बैंक १२, विकास बैंक ७, लघुवित्त वित्तीय संस्था ९, हाइड्रोपावर ३, होटल्स र अन्य समूहका १/१ वटा छन् ।

‘३ महिनामै राफसाफ र ३ महिनामा पुनः सर्भिस चार्ज तिर्नुपर्ने भएकाले वाणिज्य बैंकभन्दा झञ्झटिलो भएकाले हामीलाई खासै चासो लागेको छैन ।’ लगानीकर्ता हरेराम घिमिरे भन्छन्–‘यसका अव्यवहारिक पाटोहरुलाई छलफल गरी कार्यान्वयन पक्ष मजबुत बनाउन म सरोकारवाला संस्थाहरुलाई सुझाव दिन चाहन्छु ।’

ब्रोकर हाउसबाटै सहज ढंगले मार्जिन कारोबार सुविधाको प्रडक्ट लिन लगानीकर्ताहरुले हाल करिब १४ प्रतिशत ब्याजदर र सेवा शुल्क ०.१ देखि ०.५ प्रतिशत मात्रै लिएर दिने भनी सार्वजनिक गरेका छन् । नेप्सेबाट अनुमति पाएका २१ ब्रोकरहरुमध्ये अधिकांशले यो सेवा सुरु गरेका छन् । 

मार्जिन कारोबार उपलब्ध भएको जानकारी ब्रोकरहरुले सार्वजनिक वा विज्ञापन गर्न नियामक निकायले बन्देज लगाएका छन् । यहीकारण समेत सर्वसाधारण लगानीकर्ताहरु यो सेवाको सूचना तथा जानकारी यथेष्ट लिन नसकेको लगानीकर्ताहरुको गुनासो छ ।