काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड र कालिकोट उद्योग वाणिज्य संघको संयुक्त आयोजनमा हालै कर्णाली अञ्चलको प्रवेशद्वारको रुपमा रहेको कालिकोटको मान्ममा पूँजीबजार सम्बन्धमा जनचेतना कार्यक्रम आयोजना गरिएको छ ।

बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले काठमाडौं केन्द्रित रहेको पूँजीबजारलाई देशव्यापी बनाउन तथा यस सम्बन्धी जनचेतना बढाउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको बताउँदै यसका लागि वोर्डले विभिन्न कार्य तथा नीतिगत सुधारहरु गरिरहेको जानकारी दिए । 

उनले पूँजी बजारमार्फत कर्णाली अञ्चलको पर्यटन, जलस्रोत तथा जडिबुटी उद्योगधन्दाको विकास गरी समग्र देशको रोजगारी तथा राजश्वमा बृद्धि गरी आर्थिक विकास गर्न सहयोग पुग्ने दाबी गरे । 

उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीले वोर्डसँग संयुक्त आयोजनामा कर्णाली अञ्चलमा नै पहिलोपटक पूँजी बजार सम्बन्धी कार्यक्रम संचालन गर्न पाएको र यस्तो कार्यक्रमबाट स्थानीय व्यवसायी तथा लगानीकर्ताहरु लाभान्वित भई कर्णाली अञ्चलको विकासको ढोका खोलिदिने दाबी गरे । 

कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले यो कार्यक्रमले कर्णाली अञ्चलमा पनि पूँजी बजार सम्बन्धी जनचेतना बढ्ने अपेक्षा गरे । 

कार्यक्रममा बोर्डका उपनिर्देशक अम्बिकाप्रसाद गिरीले पूँजीबजार सम्वन्धी विविध पक्षहरुको बारेमा कार्यपत्र पेश गरेका थिए । 

सो कार्यक्रममा स्थानीय सरकारी निकायका पदाधिकारीहरु, कालिकोट उद्योग वाणिज्य संघका पदाधिकारी, शिक्षक,  विद्यार्थी, व्यवसायी, पत्रकार तथा सर्वसाधारण समेतको ठूलो संख्यामा सहभागिता रहेको थियो ।

हालै यस्तो कार्यक्रम क्षेत्रिय सदरमुकाम सुर्खेतको विरेन्द्रनगरमा पनि आयोजना गरिएको बोर्डले जनाएको छ ।