काठमाण्डौ । पूँजीबजारको नियामक धितोपत्र बोर्डलाई सेटिङमा ल्याएसँगै घोराही सिमेन्टको आइपीओका लागि पुनः आवेदन खुलाइएको छ । 

सो सिमेन्ट उद्योगका सञ्चालकहरुले धितोपत्र बोर्डले थालेको अनुसन्धान र कारबाही प्रक्रियालाई प्रभावमा पारेर पुनः आइपीओ निश्कासनको वातावरण बनाएका थिए । कम्पनीको प्रभावकै कारण धितोपत्र बोर्डले पनि आफैंले प्रभावमा परेर महंगो मूल्य प्रिमियम थपेर आइपीओ निश्कासनका लागि स्वीकृत गरेको कम्पनीमाथि नाटकीय अनुसन्धान गरेको थियो । सो अनुसन्धानमा पुनः नाटकीय ढंगले ट्वीस्ट गरी पुनः आवेदन खुलाउने गरी केही दिनअघि धितोपत्र बोर्डको बैठकबाटै निर्णय गराइएको थियो । सोही निर्णयमा टेकेर घोराही सिमेन्टले पुनः आइपीओमा निवेदन आह्वान गरेको हो । 

यो कम्पनीको आइपीओको मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ रहेको छ । १०० रुपैयाँ अंकित दरमा ३३५ रुपैयाँ प्रिमियम थप्न पाउने गरी यो कम्पनीलाई आइपीओ निश्कासनको स्वीकृति दिंदादेखि नै धितोपत्र बोर्डको भूमिकामाथि प्रश्न उठ्दै आएको छ । तर, आफैंले बिना पर्याप्त आधार र कारण महंगो मूल्यमा आइपीओ निश्कासन गर्न दिएको विषयलाई छायाँमा पार्दै धितोपत्र बोर्डले नाटकीय कदमहरु चालेको देखिन्छ । 

घोराही सिमेन्टले सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६७० कित्तामा आवेदन खुलाएको हो । आइपीओको प्रिमियमबाट कम्पनीले २ अर्ब बढी रकम संकलन गर्ने उद्देश्य राखेको देखिन्छ । 

अब इच्छुक आवेदकहरुले छिटोमा असार २४ गतेसम्म आइपीओ खरिद गर्न सक्नेछन् । पर्याप्त आवेदन नआए म्याद असार ३१ सम्म लम्ब्याउन सकिने कम्पनीले प्रष्ट पारेको छ । 

यो कम्पनीले यसअघि आइपीओ निश्कासन गरेपछि निकै ठूलो परिमाणमा फर्जी आवेदनहरु परेको थियो । बैंक खातामा पैसा नै नभई ठूलो परिमाणमा आइपीओ निश्कासनको आवेदन परेपछि यो विषय विवादित भई अनुसन्धानमा तानिएको थियो । फर्जी आवेदन परेको विषयमा चौतर्फी जनदवाब बढेपछि धितोपत्र बोर्डले बाध्य भएर घोराही सिमेन्टको आइपीओ असार ४ गते स्थगित गर्ने निर्णय गरेको थियो । बोर्डले आइपीओमा परेका फर्जी आवेदनहरुसँग घोराही सिमेन्टको कुनै कनेक्सन नरहेको विवादित निश्कर्ष निकाल्दै पुनः आइपीओ बिक्री गर्न दिने निर्णय गरेको थियो । 

यसैबीच, घोराही सिमेन्टको आइपीओमा आवेदन दिएकाहरुले शुक्रबार(आजै)देखि रकम समेत फिर्ता पाउने भएका छन् । इच्छुक आवेदकले सम्बन्धित सी–आस्वा सदस्य बैंकमा लिखित निवेदन दिई आवेदन थपघट अथवा फिर्ता लिन पाउने व्यवस्था गरिएको छ। यस्तो निवेदन आउँदो आइतबार बैंकिङ समयसम्म बुझाइसक्नुपर्नेछ ।