काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आउँदो आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। 

धौलागिरी लघुवित्तको आईपीओ (साधारण सेयर) आज नेप्सेमा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर भोलि शुक्रबार सेयर कारोबार नहुने र पर्सि शनिबार परेकोले आइतबारबाट यो लघुवित्तको सेयर कारोबारमा आउनेछ। 

नेप्सेले यो लघुवित्तलाई ‘डीएलबीएस’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले न्यूनतम १४८.६६ रुपैयाँदेखि अधिकतममा ४४५.९८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। 

यदि आउँदो आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो लघुवित्तको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबार खुल्नेछ। 

नेप्सेमा आज धौलागिरी लघुवित्तको १०० अंकित दरका कुल १० लाख ३१ हजार कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ७ लाख कित्ता र सर्वसाधारण (कर्मचारीसमेत)को ३ लाख ३१ हजार कित्ता छन्। 

यो लघुवित्तले गत साउन २४ गतेदेखि साउन २९ गतेसम्म आईपीओ बिक्री गरेको छ। आईपीओ बाँडफाँड भने गत भदौ ८ गते भएको थियो। 

आईपीओ बिक्री प्रबन्धकमा भने सनराइज क्यापिटल रहेको थियो।