काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलगन कसैलाई पनि छुट दिने कल्पनासम्म नगर्न आग्रह गरेका छन्। 

प्रतिनिधिसभा बैठकमा बुधबार विशेष समय लिएर बोल्दै अध्यक्ष लिङ्देनले यस्तो आग्रह गरेका हुन्। ‘यो राज्यविरुद्धकै अपराध हो’, उनले भने, ‘यस प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे संसदलाई जानकारी गराउनुपर्छ।’

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम जोडिएर आउनु लज्जास्पद भएको पनि लिङ्देनले बताए। ‘यो मुद्दालाई कमजोर बनाउने काम कसैले गर्न हुन्न’, उनले भने।

प्रहरी अनुसन्धाबारे अनेक आशंका आएको र शीर्ष नेताहरुको बैठकलाई समेत त्यससँग जोडेर हेरिएको लिङ्देनले बताए। ‘पछिल्लो समय प्रहरीले अनुसन्धान नगर्ने हो कि अख्तियारलाई बुझाउने हो किजस्ता तर्कहरु आउन थालेका छन्’, उनले भने, ‘यस्ता गल्ती नगर्न म आग्रह गर्छु।’