काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान फ्री र फेयर हुनुपर्ने बताएका छन्। 

प्रतिनिधिसभामा बुधबार प्रि–बजेट छलफलमा बोल्दै महामन्त्री गगन थापाले भने, ‘मेरो आग्रह छ, अनुसन्धान फ्री र फेयर होस्, निर्दोष कोही नपरोस् तर दोषी छ भने नेता होस् कि नाता होस् । एउटा पनि नछुटोस्।’ 

यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने योभन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्ने थापाले बताए। ‘तपाइँको फिल्म चल्छ, हाउसफुल हुन्छ, नभए हल खाली हुन्छ’, उनले भने। 

थापाले यो प्रकरणको अनुसन्धानमा दबाव र प्रभाव पर्न नहुने बताए। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्ने उनको भनाइ थियो। 

यो प्रकरणमा संलग्न जोकोहीलाई कारबाहीको दायरामा आउनुपर्ने थापाले बताए। ‘बजारको हल्लाले प्रभावित नहोस्, कुनै भेटघाटले पनि प्रभवित नहोस्, कुनै दबावले प्रभावित नहोस् । कुनै पनि कुराले, कहिँको पनि कुराले प्रभावित नहोस्’, उनले भने।