काठमाण्डौ । काठमाण्डौ जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको थियो। त्यसपछि थप अनुसन्धानका लागि हिरासतमा राख्न खाँणलाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो। अदालतले अनुसन्धान अगाडि बढाउन हिरासतमा राख्न अनुमति दिएको हो। 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै असुली गरेको गिरोहलाई नीतिगत निर्णय गराउन खाँणले सहयोग गरेको बताइएको छ। आर्थिक लाभ लिएर खाँणले गिरोहलाई सहयोग गरेको यही प्रकरणमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले प्रहरीसमक्ष बयानमा भनेका छन्। 

खाँण पक्राउ गरेलगत्तै जडीबुटीबाट उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । 

यसअघि गत चैत १२ गते भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो  यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए।

पक्राउ परेकाहरुको बयानकै आधारमा जिल्ला प्रहरी परिसर काठमाण्डौले गत वैशाख १९ गते रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईलाई पक्राउ गरेको थियो। वैशाख २० गते मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका थिए।

यही प्रकरणमा नेकपा एमालेका सचिव एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी फरार छन्। उनका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन्। पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पूर्जी प्रहरीले लिएको छ।