काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयास भइरहेको दाबी गरेका छन्। 

सरकारको नीति तथा कार्यक्रममाथि आइतबार प्रतिनिधिसभामा भएको छलफलमा एमाले अध्यक्ष ओलीले यो प्रकरणमा संलग्न केही पनि दोषी छुट्न नहुने बताए । ‘तर, अहिले निर्दोष फसाउने प्रयास भइरहेको छ, म खबरदारी गर्न चाहन्छु’, उनले भने, ‘दोषी उम्काउने र निर्दोष फसाउने प्रयास नगर्दा हुन्छ।’

अध्यक्ष ओलीले आफू परराष्ट्रमन्त्री भएकै बेला भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्बास कार्यक्रम सुरु भएको बताए। ‘अहिले यो प्रकरणमा एमाले र मेरो नाम जोड्ने प्रयास भइरहेको छ, त्यो सफल हुँदैन’, उनले भने, ‘म चुनौतीका साथ भन्न चाहन्छु, म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, पटक–पटक प्रधानमन्त्री भएँ, ममाथि छानबिन गरियोस्।’