काठमाण्डौ । इतिहासकै कमजोर लाभांश वितरणको घोषणा गरेका कारण दोश्रो बजारमा मूल्यको हिसाबले लिडर बैंक नवीलको सेयर बिक्री गर्ने लहर देखिएको छ । 

आज दोश्रो बजारमा कारोबार खुलेदेखि नै नगद लाभांश मात्र वितरणको घोषणा गरेको नवील बैंकको सेयर फाल्ने लहर देखिएको हो ।

जसका कारण कारोबार सुरु भएको केही मिनेटमै यो कम्पनीको सेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भयो । 

नवील बैंकको आज बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट ११ प्रतिशत नगद लाभांश मात्रै वितरणको निर्णय गरेको थियो । यो खबरले राम्रो बोनस सेयरसहित अघिल्ला वर्षहरुजस्तै उच्च लाभांश घोषणाको पर्खाईमा रहेका लगानीकर्ताहरु निराश बने । प्रतिक्रियास्वरुप यो कम्पनीको सेयर फाल्ने लहर नै दखिएको छ । 

बजार खुलेको ५ मिनेटमै नवील बैंकको मूल्य ९.०९ प्रतिशतले घटिसकेको थियो । बैंकको सेयरमूल्य घटेर प्रतिकित्ता ५१० मा सीमित बने पनि पुनः मूल्यमा केही सुधार भएको थियो । तर, सुधार केही मिनेट पनि टिकेन र पुनः नवीलको सेयर बिक्री गर्ने लहर देखियो । समाचार तयार पार्दासम्म नवील बैंकको सेयरमूल्य ८.०७ प्रतिशतले घटेको छ । घट्ने क्रम अझै बढ्ने देखिन्छ ।