काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि दुई वाणिज्य बैंकसहित पाँच कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नबिल बैंक, कृषि विकास बैंक, फरवार्ड लघुवित्त, गुडविल फाइनान्स र हिमालयन डिस्टिलरीको सेयरमूल्य समायोजन गरेको हो। मूल्य समायोजनअनुसार प्रतिकित्ता नबिल बैंकको १०८५.३३ रुपैयाँ, कृषि विकास बैंकको ४१० रुपैयाँ, फरवार्ड लघुवित्तको १९६२.९६ रुपैयाँ, गुडविल फाइनान्सको ५३३.४६ रुपैयाँ र हिमालयन डिस्टिलरीको ३९२५.७१ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता नबिलको १४५० रुपैयाँ, कृषि विकास बैंकको ४९२ रुपैयाँ, फरवार्ड लघुवित्तको २६५० रुपैयाँ, गुडविल फाइनान्सको ५८२ रुपैयाँ र हिमालयन डिस्टिलरीका ६८७० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यी कम्पनीका सेयर कारोबारमा आउनेछ। 

यी सबै कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि आज पुस १६ गते बुक क्लोज गरेका छन्। यसको अर्थ पुस १४ गते (पुस १५ गते सार्वजनिक बिदा) सम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीहरुको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
नबिल बैंकले कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ३३.६ प्रतिशत बोनस र ४.३७ प्रतिशत नगद लाभांश (करसहित) छन्। प्रस्तावित लाभांश बैंक यही पुस ३० हुने ३७ औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ। 

कृषि विकास बैंकले कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २० प्रतिशत बोनस र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश बैंकको यही पुस १३ गते हुने १५ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

यसैगरी फरवार्ड लघुवित्तले कुल ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ३५ प्रतिशत बोनस र ७ प्रतिशत नगद (करसहित) छन्।  प्रस्तावित लाभांश यो लघुवित्तको यही पुस ३० गते हुने नवौँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।

गुडविल फाइनान्सले ९.१ प्रतिशत बोनस सेयर ३.९ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यो लाभांश कम्पनीको यही पुस २९ गते हुने २७ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ। 

त्यस्तै हिमालयन डिस्टिलरीले ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद (करसहित) गरी कुल १०० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको यो लाभांश यही यही पुस २८ गते हुने २१ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।