काठमाण्डौ । नबिल बैंक लिमिटेडसहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। 

नबिल बैंक, महालक्ष्मी विकास बैंक, नेपाल टेलिकम, बुटवल पावर र सिद्धार्थ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८–७९को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी कम्पनीले भोलि पुस १८ गते बुक क्लोज गर्दैछन्। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुले मात्रै यी कम्पनीको लाभांश पाउनेछन्।

नबिल बैंकले आफ्नो ३८ औँ वार्षिक साधारणसभा यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको गैह्रीधारास्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट सेन्टरमा बिहान १० बजेबाट हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ३० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश छन्। 

यसैगरी महालक्ष्मी विकास बैंकले २१ औँ वार्षिक साधारणसभा पनि यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १०.४७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४ प्रतिशत बोनस सेयर र बाँकी ६.४७ प्रतिशत नगद लाभांश (करसहित) छन्। 

नेपाल टेलिकमले उक्त आर्थिक वर्षको मुनाफा रकममध्येबाट सेयरधनीहरुलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको यही पुस २८ गते हुने १५ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्। सभाले काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान १० बजेबाट हुनेछ। 

त्यस्तै बुटवल पावर कम्पनीले आफ्नो ३० औँ वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १२.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (करसहित) छन्। 

सिद्धार्थ इन्स्योरेन्सले आफ्नो २१ औँ वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ९.४७३७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४७३७ प्रतिशत नगद लाभांश छन्।