काठमाण्डौ । निजी क्षेत्रको बलियो बैंकका रुपमा रहेको नबिल बैंकले आज आइतबारदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ। 

नेपाल राष्ट्रबैंकले चुक्तापूँजीको २५ प्रतिशत अनिवार्य रुपमा ऋणपत्र जारी गर्ने प्रावधान राखिदिएपछि वाणिज्य बैंकहरुले धमाधम ऋणपत्र निश्कासन गरिरहेका छन्। यही क्रममा नबिल बैंकले ‘१० प्रतिशत नबिल बैंक डिबेन्चर–२०८२’ नामक ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका २० लाख इकाइ ऋणपत्रहरु बिक्री खुलाएको हो। कुल निश्कासन हुने युनिटमध्ये ८ लाख सर्वसाधारणमार्फत र बाँकी १२ लाख कित्ता प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ। 

यो बैंकले  '१०% नवील बैंक डिवेञ्चर-२०८२' निश्कासन गर्न लागेको हो। नवीलले १००० रुपैयाँ दरका २० लाख इकाई ऋणपत्र निश्कासन गर्नेछ।

ऋणपत्रमा छिटोमा चैत ५ र ढिलोमा चैत १६ गतेभित्र आवेदन दिन सकिनेछ। इच्छुकले न्यूनतम २५ कित्ताका लागि र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ। 

ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतको दरले ब्याज पाउनेछन्। ब्याजको भुक्तानी प्रत्येक ६ महिनामा हुनेछ। 

सात वर्षे अवधिको ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमीटेड रहेको छ। 

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नवील बैंकले जारी गर्न चाहेको ऋणपत्रलाई लगानी जोखिम नरहेको इक्रा एनपी एलएएको रेटिङ प्रदान गरेको छ। यस्ता कम्पनीको ऋणपत्रमा लगानी गर्दा जोखिम हुँदैन।