काठमाण्डौ। कलङ्कीदेखि नागढुङ्गा छिचोल्न कति समय खर्चनु पर्ला? दूरी टाढा नभएपनि यसको जवाफ फ्याट्ट दिने अवस्था छैन। सवारी जामका कारण हवाई मार्गबाट काठमाडौँदेखि नयाँदिल्ली पुग्नभन्दा बढी समय कलङ्कीदेखि नागढुङ्गासम्म पुग्न व्यतित गर्ने अवस्था आएको छ।
 
यो सडकको दुरावस्थाबारे मंगलबारको विकास समितिको वैठकमा सांसदहरुले चर्को आवाज उठाए।

'माननीय सभापतिज्यू, तपाईं घर जाँदा कुन बाटोबाट यात्रा गर्नुहुन्छ? डिजी साहेब, सचिवज्यू, तपार्इं त्यो बाटोबाट यात्रा गर्नुहुन्न कि? यात्रा गरेर पनि देख्नुहुन्न? अथवा देखेर पनि नदेखेजस्तो गर्नुहन्छ ?'
 
आजको बैठकमा समितिका सभापति रवीन्द्र अधिकारी, सडक विभागका महानिर्देशक देवेन्द्रबहादुर कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तमाङलाई सांसद रामकुमार भट्टराईसित यो प्रश्न सोधे।
 
तर, कसैले पनि सहज जवाफ दिन सकेन। कास्की निवासी सभापति अधिकारी प्रायः आफ्नो गृह जिल्ला जाँदा सोही बाटोबाट आवतजावत गर्छन्। त्यसैले सडकको दुरावस्थाबारे उनी पनि जानकार थिए।
 
अहिले कलङ्कीदेखि नागढुङ्गा छिचोल्न कम्तीमा चार घन्टाको समय लाग्ने गर्छ। कलङ्की–नागढुङ्गा सडक विस्तारमा आएको सुस्तताले सवारी साधन घन्टौँ जाममा पर्ने गरेका हुन्। 
 
कलङ्की चोकमा सुरुङ मार्ग (अन्डरग्राउन्ड) निर्माण कार्य सुरु गर्न सडकलाई छेकबार लगाएपछि यो बाटोबाट आवातजावत गर्नेले झनै सास्ती खेप्नु परेको छ।
 
सांसद भट्टराईले थपे– 'जेठा दाइको त भाङ्ग्राको गति अरु भाइको के गति? राजधानी भित्रिने सडकको त यो गति छ, कहिले भत्काएर सकिन्छ र कहिले बनिसक्ला? लौन यसको उत्तर कुन निकायसित होला?' 
 
रसुवागढी सडक, पोखरा बेनी जोमसोम कोरला सडक, अरनिको राजमार्ग, कर्णाली करिडोर, चैनपुर ताक्लाकोट सडक, हुलाकी राजमार्गलगायतका सडकको विद्यमान अवस्थाका बारेमा छलफल गर्न विकास समितिको बैठकको कार्यसूची थियो। तर, सांसदहरुले वत्ति मुनीको अँध्यारो बनेको राजधानी जोड्ने मूल सडकबारे प्रश्न उठाए। 
 
बैठकमा सहभागी अधिकांश सांसदले राजधानी जोड्ने नागढुङ्गा कलङ्की सडक विस्तार कार्य छिटो पूरा गर्न, राजधानीका अधिकांश सडकको अवस्था पानी पर्दा हिलाम्मे हुने र घाम लाग्दा धुलो उडेर हिँडिनसक्नु अवस्था किनारा लगाउन सरकारको ध्यानाकर्षण गराए।
 
सदस्य मोहन बानियाँले सडक निर्माण तथा विस्तार कार्य सुरु गर्नुपूर्व यसको समयावधि तोकिनुपर्ने र निर्धारित समयसीमाभित्र पूरा नगर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।
 
समितिका अर्का सदस्य प्रकाश शर्माले माटो काटेर बाटोको भुक्तानी दिने प्रवृत्तिलाई सडक विभागले रोक्न र सडकको गुणस्तरीयतामा ध्यान दिन सुझाव दिए। जनार्दन ढकालले पासाङल्हामु राजमार्गमा जोडिएका दायाँ बायाँ जमिनको मुआब्जा दिन माग गर्दै बहुवर्षीय सडक ठेक्कापट्टासम्बन्धी नीतिलाई स्पष्ट पार्न माग गरे।
 
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तामाङले टनेल सडक, एक्सप्रेक्स सडक, मृत्युविहीन सडक, सुविधा सम्पन्न सडक, रेल यातायातमा ध्यान दिएको दावी गरे। सडक विभागका महानिर्देशक कार्कीले विसं २०५० मा भएका इञ्जिनियर (प्राविधिक जनशक्ति)ले सडक निर्माणमा काम गर्नु परिरहेको उल्टो गुनासो पोखे।